मकवानपुर समाचारदाता
हेटौँडा, जेठ १७ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कांग्रेसले अरूलाई दोष देखाएर उम्कने अवस्था नरहेको बताउनुभएको छ । उहाँले जनप्रतिनिधिप्रति जनताको ठूलो विश्वास र भरोसा भएकाले त्यहीअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने भन्दै हामीले अरूलाई दोष दिएर हुँदैन, अब हामी आयौँ, सबै ठीक हुन्छ भनेर काम गर्न सकेनौँ भने जनताले विकल्प खोज्न सक्ने बताउनुभयो ।
नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिले स्थानीय तह निर्वाचनमा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिलाई सोमबार हेटौँडामा सम्मान गर्दै अब जनतालाई काम गरेर विश्वास र भरोसा दिलाउने दायित्व कांग्रेसमा आएको बताउनुभयो । ‘प्रत्येक दिन, प्रत्येक पल, हाम्रो काम, आचरण र व्यवहार, शैलीबाट नागरिकलाई खुसी पार्नुपर्छ र नागरिक खुसी हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामीलाई कसैले परास्त गर्न सक्दैन, हामी परास्त भयौँ भने हाम्रै कमजोरीका कारण परास्त हुने हो ।’
उहाँले विगतका पाँच वर्ष खेर गएकोले कांग्रेस आक्रोशित पनि छ र दुःखी पनि छ, अबको पाँच वर्ष कांग्रेस खेर फाल्न चाहँदैन भन्नुभयो । ‘अब एउटा अध्याय समाप्त भएको छ र नयाँ अध्यायको प्रारम्भ भएकाले हामीले अबको तयारी गर्नुपर्ने भएकाले हामीले अरूलाई धेरै भनिराख्नु पर्दैन, एमालेले गरेको गल्तीको सजाय पाइसक्यो, अब हाम्रो काम अर्थतन्त्र सुधार गर्ने, अव्यवस्थालाई व्यवस्थित गर्ने हो,’ महामन्त्री थापाले स्पष्ट पार्नुभयो ।
कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले संविधानको संरक्षण र संस्थागत गर्न गठबन्धन लाग्नुपर्ने भन्दै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई मैले जितेको होइन, लोकतन्त्रको जित हो भन्ने भावनाका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले जनताको घरदैलोमा पुगेर काम गर्न भन्दै गठबन्धनका कारण महिला नेतृत्वबाट वञ्चित हुनुपरेको बताउनुभयो ।
कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले स्थानीय तहमा भएको कांग्रेसको जितले गठबन्धनको औचित्य पुष्टि भएको बताउँदै नागरिकको न्याय र सेवाका लागि जनप्रतिनिधि लाग्नुपर्नेमा जोड दिनुभयो । प्रतिनिधि सभाका सदस्य देवीप्रसाद तिमिल्सिनाले सत्ता गठबन्धनले निरन्तरता पाउने भन्दै पार्टीभित्र रहेका सबैको भावनाको सम्मान हुनुपर्ने अन्यथा जनताले विकल्प खोज्ने बताउनुभयो ।
कांग्रेस हेटौँडा उपमहानगर समितिका सभापति उत्सव इटेनीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, निवर्तमान नगरसभापति आनन्दराम पराजुली, सङ्घीय सभापति दामोदर खनाल र हेटौँडा उपमहानगरपालिकामा प्रमुख मीनाकुमारी लामाले गठबन्धनको प्रतिबद्धताअनुसार काम गर्ने बताउनुभयो ।
 
                                 
                                                 
                                                            -(1)-square-thumb.jpg) 
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                