रमेश विश्वकर्मा
गुल्मी, फागुन १७ गते । नेपाली कांग्रेस गुल्मीका सभापति एवम् रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले शिक्षकहरु आफ्नो पेशाप्रति जवाफदेही बन्नुपर्ने बताउनुभएको छ ।
“शिक्षकको मर्यादित पेशा : विद्यार्थीलाई जीवनोपयोगी शिक्षा’’ भन्ने मुख्य नारासहित नेपाल शिक्षक संघ रेसुङ्गा नगरपालिकाले आयोजना गरेको छैठौं प्रतिनिधिसभालाई सम्बोधन गर्नुहुँदै उहाँले शिक्षक सबैले पेशागत मर्यादामा पहिलो जवाफदेही भएर काम गर्न जरुरी रहेको बताउनुभएको हो ।
शैक्षिक गुणस्तरलाई बदल्ने गरी शिक्षक संघमा आबद्ध सबै शिक्षकहरु लाग्न जरुरी रहेको भन्दै सभापति पन्थीले पेशागत मर्यादालाई ख्याल गरी आफ्नो पेशाप्रति प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । सबै शिक्षकहरुले उच्च मनोबल बनाएर काम गर्न आवश्यक रहेको हुँदा शिक्षकका हक–अधिकारका लागि एकताबद्ध हुनुपर्ने बताउनुभयो । शिक्षकका हरेक समस्या समाधानमा कांग्रेस गुल्मी सधैँसँगै रहेको उहाँको दाबी छ ।
शिक्षकहरुलाई हेपाहा प्रवृत्ति देखाउन नहुने भन्दै सभापति पन्थीले यदि सरकारका कुनै पनि अङ्गले शिक्षकलाई हेपाहा प्रवृत्ति देखाएमा सबै मिलेर खबरदारी गर्ने बताउनुभयो । शिक्षकले समाजलाई सकारात्मक दिशातर्फ हिँडाउने भएको हुँदा सबै शिक्षकलाई पेशाप्रति जिम्मेवारी बनाउने गरी काम गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका निवर्तमान सङ्घीय उपाध्यक्ष प्रेमनारायण भण्डारी, सङ्घीय उपाध्यक्ष धना भण्डारी, शिक्षक संघ लुम्बिनी प्रदेशका उपमहासचिव बमबहादुर राना, शिक्षक संघ गुल्मीका अध्यक्ष खिमबहादुर थापालगायतले शुभकामना मन्तव्य राख्नुभयो । उहाँहरुले शिक्षा ऐन जारी नहुँदा शिक्षकहरुलाई निकै समस्या परेको भन्दै तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने बताउनुभयो ।
वर्तमान सरकारले शिक्षकको महत्त्व नबुझेको भन्दै उहाँहरुले शिक्षकहरु समाजको मार्ग दर्शक भएको बताउनुभयो । शिक्षकलाई अन्याय गरियो भने समाजको अधोगती सुरु हुने उहाँहरुको भनाइ छ । शिक्षकको विरुद्धमा कुनै पनि क्रियाकलाप गर्न नहुने भन्दै शिक्षकलाई अरुसँग तुलना गर्न नहुने बताउनुभयो। त्यस अवसरमा सभापति पन्थीले सम्पूर्ण शिक्षकलाई महसुस हुने गरी तत्काल शिक्षा ऐनलाई जारी गर्नका लागि सम्बन्धित पक्षसँग पहल गर्ने बताउनुभयो ।