• १७ फागुन २०८१, शनिबार

विद्यार्थी बिरामी भएपछि तीन दिन विद्यालय बन्द

blog

ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालय । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङ्लिङ, फागुन १७ गते ।
विद्यार्थी बिरामी भएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका दुई विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । मेरिङदेन गाउँपालिका ५ थुकिमाका त्रिभुवन माध्यमिक विद्यालय र जन ज्योति आधारभूत विद्यालय मङ्गलबारसम्मका लागि बन्द गरिएको हो ।

त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल लिम्बूका अनुसार तीन सयभन्दा बढि विद्यार्थीहरुमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, र पेट दुख्ने लक्षण देखिएकोले तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । त्रिभुवन माध्यमिक विद्यालयका १५० जना विद्यार्थीसँगै चार जना शिक्षकमा उक्त लक्षण देखा परेको छ ।

यस्तै जन ज्योति आधारभूत विद्यालयमा भने सत प्रतिशतमा उक्त लक्षण देखा परेको बताइएको छ । विद्यालयसँगै समुदाय स्तरमा नै उक्त प्रकारको लक्षण देखा पर्न थाले पछि एक हप्ताका लागि विद्यालय बन्द गर्ने कुरा आए पनि एसइईलाई मध्यनजर गर्दै तीन दिनसम्मका लागि मात्र विद्यालय बन्द गरिएको प्रअ लिम्बूले बनाउनुभयो ।

विद्यालयबाट सूचना प्राप्त भए लगत्तै जनसमुदाय तथा अन्य विद्यालयमा पनि सङ्क्रमण फैलन नदिनका लागि विद्यालय बन्द गर्ने निर्णय गाउँपालिकाले गरेरको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख उदय कुमार यादवले जानकारी दिनुभयो ।

विद्यालयमा उपस्थित नभएका विद्यार्थीमा पनि ज्वरो आउने खोकी लाग्ने जिउ दुख्ने नाकबाट पानी बग्ने टाउको दुख्ने र पेट दुख्नेलगायतका लक्षण देखा परेको उहाँको भनाइ छ । भाइरल इन्फ्लुएन्जा भाइरसले फ्लु जस्ता सङ्क्रमणका कारणले यस्तो अवस्था हुनसक्ने यादवले बताउनुभयो ।

इन्फ्लुएन्जा भाइरस परीक्षणका लागि विराटनगरबाट किट झिकाइएको र सो नमुना परीक्षण ल्याब टेस्टका लागि विराटनगर पठाउने र रिपोर्ट आएपछि मात्र के समस्या हो भन्ने थाहा हुने यादवको भनाइ छ । यस्तै, थप सङ्क्रमण हुन नदिन गाउँपालिकाले थप स्वास्थ्यकर्मी परिचालन गरेको छ ।