• १७ फागुन २०८१, शनिबार

स्ववियु चुनावका लागि डिएसमसीमा निर्वाचन समिति गठन

blog

रामकृष्ण बोहरा
बागलुङ, फागुन १७ गते ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नजिकिएसँगै धौलागिरि बहुमुखी क्याम्पस (डिएमसी) बागलुङमा चुनावी चहलपहल सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्ववियुको निर्वाचनका लागि डिएसमीमा निर्वाचन समिति गठन गरिएको छ ।

आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि धौलागिरि बहुमुखी क्याम्पसमा उपप्राध्यापक गोविन्दराज गौतम निर्वाचन अधिकृत रहेको निर्वाचन समिति गठन गरिएको हो । पाँच सदस्यीय निर्वाचन समितिको सदस्यहरुमा उपप्राध्यापक जोहन बज्राचार्य, उपप्राध्यापक शिवप्रसाद पौडेल, शिक्षण सहायक रामचन्द्र शर्मा र कार्यालय सहायक रामु आचार्य रहनुभएको क्याम्पस प्रमुख सहप्राध्यापक डा. सुदर्शन शिलवालले जानकारी दिनुभयो ।

त्रिवि कार्यकारी परिषदको निर्णय नं. ५ सय ६५ र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ अनुसार स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गर्नका लागि समिति गठन गरिएको हो ।

निर्वाचन कार्यक्रमअन्तर्गत आगामी फागुन १९ गतेसम्म संघ/सङ्गठन दर्ता, २१ गते मतदाता नामावली प्रकाशन, २५ गते मतदाता उपर दाबीविरोधसँगै मतदाता उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशन, २६ गते प्रत्यक्ष तथा समानुपातिक उमेदवारका लागि मनोनयन पत्र वितरण, २७ गते उमेदवारको नामावली दाखिला गर्ने समय तोकिएको छ ।

त्यसैगरी, फागुन २७ गते नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उमेदवारको नामावली उपर दाबीविरोध र छानविन गरी नामावली प्रकाशन, २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने र चैत ५ गते बिहान ८ देखि साँझ ४ बजेसम्म मतदान हुने क्याम्पसले जनाएको छ ।