• १६ भदौ २०८१, आइतबार

काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठक : फोहोरमैला व्यवस्थापन कार्यदल गठन

blog

काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै प्रमुख वालेन्द्र साह । तस्बिर : गोरखापत्र

सपना थामी

काठमाडौं, जेठ १६ गते । काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले फोहोरमैला व्यवस्थापन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । बैठकले महानगर प्रमुख वालेन्द्र साहको संयोजकत्वमा सात सदस्यीय फोहोरमैला व्यवस्थापन कार्यदल गठन गरेको छ । कार्यदलको बैठक मङ्गलबार बस्ने छ ।

कार्यदलका सदस्यहरुमा (एमाले) का तर्फबाट उपप्रमुख सनिता डंगोलसहित थप एकजना, नेपाली कांग्रेसका तर्फबाट दुई सदस्य, नेकपा (एकीकृत समाजवादी) का सदस्य एक र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको छ ।

सार्वजनिक शौचालयका लागि रेस्टुरेन्ट र पेट्रोल पम्पसँग सहकार्य गर्ने निर्णय गरिएको छ । महानगरको गुनासो सम्बोधन गर्न सात दिनभित्र कल सेन्टर स्थापना गर्ने र सोहीमार्फत हप्ताको दुई पटक स्वास्थ्य सेवाका लागि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरिएको छ ।

बैठकमा महानगरका सबै वडामा रहेका प्रमुख समस्या र विगतमा गरिएका पहल कदमीबारे पनि सङ्क्षिप्तरूपमा चर्चा गरिएको थियो । फोहोरमैला व्यवस्थापनका लागि सिस्डोल र वञ्चरे डाँडाको क्षेत्रमा व्यवस्थापन गर्ने, फोहोरलाई माहोर बनाउनेलगायत मेसिनको विषयमा पनि छलफल भयो ।

महानगर उपप्रमुख डंगोलले महानगरमा विगतका नेतृत्वले गरेका केही राम्रा काम र विचारलाई पनि आवश्यकता अनुसार परिमार्जन गरेर लैजानुपर्ने सुझाव दिनुभयो । मुख्यतः सामूहिक भावनाबाट काम गर्नुपर्ने धारणा उहाँको छ ।

महानगर प्रमुख साहले सोमबारको बैठकमा जनप्रतिनिधिहरुबीच परिचय गर्ने, महानगरका मतदातालाई धन्यवाद ज्ञापन गर्ने, फोहोरमैला व्यवस्थापन र काठमाडौंका होटलहरूसँग सार्वजनिक शौचालयको सहकार्य गर्नेलगायतका प्रस्तावहरु राख्नुभएको थियो ।