• ६ जेठ २०८१, आइतबार

सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव

blog

पुस्तक पसलमा किताब लिने विद्यार्थीको भीड । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, जेठ १६ गते ।
पूर्वी नवलपरासीका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिकसत्र सुरु भएकोे तीन साता बितिसक्दा पनि हालसम्म विद्यार्थीहरुले पर्याप्त पाठ्यपुस्तक पाएका छैनन् ।

पुस्तक पसलहरु किताब लिनका लागि विद्यार्थीको भिड लाग्ने गरेको छ । सरकारले निःशुल्क उपलब्ध गराउने किताब नै अभाव भएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको कावासोती नगरपालिका वडा नं ८ स्थित ज्ञानोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारीले बताउनुभयो । 

सरकारी माध्यामबाट अध्यापन हुने कक्षा ४ देखि कक्षा १० सम्मकै पाठ्यपुस्तक अभाव भएको छ । विशेषत कक्षा ६ र कक्षा ८ को नेपाली र अंग्रेजी विषयको अभाव भएको छ भने विद्यालयहरुले पाठ्यपुस्तकको अभावकैबीच पठनपाठन थालेका छन् । जेठ ४ गतेबाट पठनपाठन थालिएकोमा किताब अभाव भएकाले पाठ्यक्रम अनुसार अध्ययन गराउने र गृहकार्यमा केन्द्रत गरिएको प्रधानाध्यापक अधिकारीले बताउनुभयो । पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थीलाई अध्ययन गर्न असहज भएको बताउनुभयो ।

विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन् । कावासोती वडा नं ८ मा विगत २५ वर्षदेखि पुस्तक व्यवसायी गर्दै आउनु भएका प्रकृति पुस्तक पसलका प्रोप्राइटर गीता पराजुुलीले कक्षा ४ देखि १० सम्मका सबै  पुस्तक नआएको बताउनुभयो ।

यसअघिका वर्षमा शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हात–हातमा पुस्तक उपलब्ध गराइँदै आएको थियो । नवलपुरका पुस्तक व्यवसायीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट ल्याएको पुस्तक कावासोतीमा बिक्री केन्द्र राखेर विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलका अनुसार विद्यालयमा पाठ्यपुस्तक अभाव भएको गुनासो आएको छ । केही विद्यालयले पूराना किताबबाट पठनपाठन गरेका छन् । पाठ्यपुस्तक अभावका कारण विद्यार्थीलाई पठनपाठनमा समस्या भएको बताउनुभयो ।