गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १३ गते । शताब्दी लामो आयु बाँचेर कीर्तिशेष शताब्दी काव्यपुरुष राष्ट्रकवि माधव घिमिरेको जन्मस्थल पुस्तुन बाहुनडाँडा, मस्र्याङ्दी–६, लमजुङमा साझा प्रकाशनद्वारा २०७९ मा पहिलो पटक र २०८० मा दोस्रो संस्करणका रूपमा प्रकाशित घिमिरेको महाकाव्य ऋतम्भरामाथि परिचर्चा भएको छ ।
पुस्तुन बाहुनडाँडा घिमिरे समाज, लमजुङ र कोकगोष्ठी काठमाडौँको संयुक्त आयोजनामा ऋतम्भरा महाकाव्यमाथि चर्चा गरिएको हो । नेपाल संस्कृत विश्वविद्यालयका साहित्यका प्रध्यापक डा. जीवन अधिकारीले कार्यपत्र प्रस्तुत गरी विशद् चर्चा गरिएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय नेपालीका प्राध्यापक डा. नारायण गड्तौला, अङ्ग्रेजीका प्राध्यापक सीताराम अधिकारीलगायतले महाकाव्यबारे विश्लेषण प्रस्तुत भएको थियो । परिचर्चा कार्यक्रममा गायिका लोचन भट्टराईबाट महाकाव्यको एउटा कवितागुच्छ गायन गरिएको थियो ।
सोही कार्यक्रममा गुरुङ भाषामा अनूदित ‘गौरी शोककाव्य’ को लोकार्पण ८६ वर्षीय स्थानीय धर्मविधि घिमिरे, प्राडा माधव पोखरेल र अनुवादक आसबहादुर गुरुङद्वारा संयुक्त रूपमा गरिएको थियो । साथै रामचन्द्र न्यौपाने ‘वनवासी’ को ‘दुर्लभ सत्सङ्ग’ नामक कृतिको लोकार्पण पनि गरियो । कोकगोष्ठीको एक सय सोह्रौँ कविता शृङ्खला आयोजना गरी काठमाडौँ, चितवन र लमजुङमा बसेर काव्य साधना गर्ने २७ जना कविका छन्दोबद्ध कविता प्रस्तुत भएका थिए । कोकगोष्ठीका अध्यक्ष छन्दसारथि रमेश खकुरेलको कविताबाट सुरु गरिएको कविता वाचनमा विभिन्न कविले रचना वाचन गरेका थिए ।