• १३ फागुन २०८१, मङ्गलबार

एसइईको नतिजा सुधार्न पहल

blog

मटेश्वरस्थित लक्ष्मी माध्यमिक विद्यालय ।

ढल्केबर समाचारदाता

ढल्केबर, फागुन १३ गते । यहाँका विद्यार्थी २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा जुटेका छन् । कक्षा १० को आन्तरिक मूल्याङ्कन परीक्षा सम्पन्न भएसँगै विद्यार्थी थप अध्ययनमा जुटेका छन् । यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेबाट सुरु हुँदैछ । विद्यार्थी पाठ्यपुस्तक, नोट र विभिन्न स्रोतको प्रयोग गरेर तयारी गरिरहेका छन् । अभिभावक र शिक्षक पनि आफ्ना विद्यार्थीको अध्ययनमा विशेष ध्यान दिइरहेका छन् । 

पछिल्लो समय मधेश प्रदेशको शैक्षिक अवस्था कमजोर बन्दै गएको तथ्याङ्कले देखाएको छ । २०८० सालमा धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरमा रहेको महेन्द्र माध्यमिक विद्यालयबाट १६९ विद्यार्थी एसइईमा सहभागी हुँदा १९ जना मात्र उत्तीर्ण भएका थिए । त्यस्तै प्रदेशभर ७९ हजार ५९२ विद्यार्थी सहभागी हुँदा ३७ हजार तीन सय छ जना मात्र पास हुनुले शैक्षिकस्तर खस्किँदै गएको तथ्याङ्क उजागर गरेको छ । 

विशेषतः सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको नतिजा कमजोर देखिएको सिकाइ उपलब्धि भन्ने प्रतिवेदनले देखाएको छ । महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार महतोले विद्यार्थीले यसपालिको एसइई परीक्षामा राम्रो नतिजा ल्याउने आसा व्यक्त गर्नुभयो । उहाँले कक्षा १० को आन्तरिक मूल्याङ्कन परीक्षा सकेका विद्यार्थीलाई लक्षित गरी निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । यस निःशुल्क कोचिङ कक्षामा गणित, विज्ञान, अङ्ग्रेजी तथा सामाजिक विषयलाई विशेष जोड दिइएको छ । शिक्षकहरूले अतिरिक्त समय दिएर विद्यार्थीको तयारीलाई प्रभावकारी बनाउन प्रयास गरिरहेको उहाँको भनाइ छ । 

यसै गरी एसइईको नतिजामा सुधार ल्याउन मधेश प्रदेश सरकारले चासो देखाएको छ । मधेश सरकारले एसइई नतिजा सुधार गर्न एक १३२ जना स्वयम्सेवक शिक्षक परिचालन गर्ने तयारी गरेको हो । विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न चार विषयका शिक्षक व्यवस्थापन गर्न स्वयंसेवक शिक्षक भर्ना गर्न लागिएको शिक्षा तथा संस्कृति मन्त्रालयले जनाएको छ । 

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेश सरकारले विद्यालय शिक्षालाई सबल, सुदृढ र परिणाममुखी बनाउन प्रदेश स्वयंसेवक शिक्षक अवधारणा ल्याएको बताउनुभयो । लामो समयदेखि सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी कायम नभएको र विषयगत शिक्षकको अभाव रहेका कारणले नतिजा कमजोर बनेको उहाँको भनाइ छ । सरकारको यो प्रयासले विद्यार्थीको सिकाइ उपलब्धि सुधार्न महìवपूर्ण ठहरिने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

शिक्षाविद् डा. विनय कुसियतले विद्यालयमा शिक्षकको अभाव, अपर्याप्त स्रोतसाधन र पूर्वाधारको कमीले विद्यार्थीको सिकाइ प्रभावित भइरहेको बताउनुभयो । शिक्षण सिपमा सुधार नगरेसम्म नतिजा सुधार नहुने भन्दै शिक्षकको क्षमता अभिवृद्धि, सूचना प्रविधिको प्रयोग र बालमैत्री वातावरण सिर्जना गर्नुपर्ने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “कतिपय विद्यालयमा आवश्यक विषयका शिक्षक नै उपलब्ध छैनन् । जसका कारण विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकेका छैनन् । विज्ञान, गणित र अङ्ग्रेजी विषयमा विद्यार्थीको सिकाइ उपलब्धि कमजोर छ ।” शिक्षण पद्धति, विद्यार्थीको अध्ययनमा रुचि कमी, अभिभावकको अनुगमनको अभाव तथा विद्यालय व्यवस्थापनको कमजोरीका कारणले पनि यो अवस्था आएको शिक्षाविद् कुसियतले बताउनुभयो । 

शिक्षक मेघनाथ यादवले कतिपय विद्यालयमा शिक्षक अनुपात नमिलेको बताउनुभयो । उहाँका अनुसार कतै शिक्षक छन् तर विद्यार्थी छैनन्, कतै विद्यार्थी छन् तर शिक्षक र पूर्वाधारको अभाव छ । स्थानीय राजकिशोर महतोले शिक्षाको दायित्व स्थानीय तहमा गएदेखि शैक्षिकस्तर खस्किएको आरोप लगाउनुभयो । विद्यालय व्यवस्थापन समितिसमेत राजनीतिक हस्तक्षेपको अखडा बनेका कारण शैक्षिक गुणस्तर खस्किएको उहाँको भनाइ थियो । कतिपय विद्यालयमा प्रधानाध्यापकको भूमिका पनि प्रभावकारी बन्न नसकेको उहाँको भनाइ छ । 

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले विद्यालय शिक्षामा सुधार ल्याउन सबै सरोकारवाला पक्षले जिम्मेवारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो । विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तह, तथा प्रदेश सरकारको समन्वयमा मात्र शिक्षाको गुणस्तर सुधार्न सकिने उहाँको भनाइ छ ।