गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १३ गते । अन्डा उत्पादक किसान र व्यवसायीले घटाएको भाउ दुई दिनमै उल्टाएका छन् । गत शुक्रबारदेखि लागु हुने गरी प्रतिक्रेट अन्डामा ३० देखि ३५ रुपियाँ घटाएका व्यवसायीले सोमबारदेखि लागु हुने गरी प्रतिक्रेटको अन्डाको भाउ ३५ देखि ४० रुपियाँसम्म बढाएका छन् ।
भारतको सेतो अन्डा आयातमा कडाइ गरेपछि नेपालमा उत्पादन हुने रातो अन्डाको माग बढ्न थाल्नेबित्तिकै व्यवसायीले अन्डाको भाउ पुनः बढाएका हुन् । नेपाल लेयर्स कुखुरापालक सङ्घका अनुसार सोमबारदेखि लागु हुने गरी अन्डाको मूल्य प्रतिक्रेट ३५ देखि ४० रुपियाँका दरले बढाइएको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलले अन्डामा हाल बढाएको मूल्यमा बिक्री गर्दा पनि प्रतिक्रेट ७०/७५ रुपियाँ किसानलाई अझै नोक्सान रहेको दाबी गर्नुभयो ।
सङ्घका अनुसार बजारमा ठुलो, मध्यम र एक्स–एल गरी तीन आकारका अन्डा आउँछन् । मध्यम अन्डा एक दिन पहिले प्रतिक्रेट ३५० रुपियाँमा बिक्री भएकोमा प्रतिक्रेट ४० रुपियाँ बढाएर ३९० रूपियाँ र ठुलो अण्डा प्रतिक्रेट ३७० रूपियाँमा बिक्री हुँदै आएकोमा प्रतिक्रेट ४० रुपियाँ बढाएर ४१० रुपियाँमा बिक्री गर्न थालिएको छ ।
यस्तै एक्स–एल अन्डा प्रतिक्रेट ३८५ रुपियाँमा बिक्री हुँदै आएकामा ३५ रुपियाँ बढाएर प्रतिक्रेट ४२५ रुपियाँमा बिक्री गर्न थालेको सङ्घले जनाएको छ । सङ्घका अनुसार हाल तोकिएको यो मूल्य किसानले प्राप्त गर्ने मूल्य हो । भारतबाट सेता अन्डा भित्रिने र उत्पादक तथा व्यवसायीबिच अस्वस्थ प्रतिस्पर्धा बढेकाले भाउमा उत्तारचढाव देखिएको सङ्घले जनाएको छ । खुद्रा बजारमा उपभोक्ताका लागि प्रतिगोटा अन्डाको मूल्य भने २० रुपियाँ छ । अन्डासँगै दानाको पनि व्यापार गर्ने सीमित व्यापारीले मूल्य घटबढ बनाउँदा अन्डा उत्पादन गर्ने उत्पादक मर्कामा पर्ने गरेका छन् । सङ्घले बेला बेलामा अन्डाको मूल्य बढाउने सूचना बिचौलियासँग पुग्ने भएका कारण सस्तो मूल्यमा अन्डा लिएर होल्ड गर्ने बढाएपछि बेच्ने गरेको अन्डा उत्पादक किसानले गुनासो गर्दै आएका छन् ।
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सङ्घका पदाधिकारी र बिचौलियाको सेटिङमा बेला बेलामा अन्डाको मूल्य तलमाथि बनाउने गरिएको बताउनुभयो । सरकारको भूमिका कमजोर देखिँदा व्यापारीले उपभोक्ता ठग्ने गरेको उहाँको भनाइ छ । सङ्घका अनुसार कृषक–थोक–सबडिस्ट्रिब्युटर–साइकलवाला–पसल गरी चार तह पार गरेपछि उपभोक्ताको भान्सामा अन्डा पुग्ने गरेको छ । अन्डाको तौल अनुसारको मूल्यभन्दा पनि पसलेले बनाएको साइजमा विश्वास गर्नुपर्ने बाध्यता उपभोक्तालाई रहेको भन्दै महर्जनले भन्नुभयो, “अन्डाको उत्पादन मिति र म्याद सकिने मिति नहुँदा उपभोक्ताले पुराना र बिक्री भएका अन्डा लिनुपर्ने बाध्यता रहेको छ । यस विषयमा नियमनकारी निकायको ध्यान जानु पर्छ ।”