• १३ फागुन २०८१, मङ्गलबार

सहयोग प्राप्त भएको छैन : अर्थ मन्त्रालय

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १३ गते । अमेरिकी सहयोग नियोग (युएसएआइडी) बाट सञ्चालित हुने भनिएका तीन वटा कार्यक्रमहरू डिजाइनकै क्रममा रहेकाले अहिलेसम्म कुनै सहयोग प्राप्त नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । 

मन्त्रालयले सोमबार सूचना सार्वजनिक गर्दै विगत केहीदिनदेखि युएसएआइडीबाट सञ्‍चालित कार्यक्रमको सम्बन्धमा  सञ्‍चार माध्यम तथा सामाजिक सञ्‍जालमा आएका समाचार र टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्तो प्रस्टीकरण दिएको हो । मन्त्रालयका अनुसार जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीन वटा कार्यक्रमहरू डिजाइनका क्रममा छन् । यी कार्यक्रमका लागि सम्झौता नभइसकेकाले कुनै सहयोग प्राप्त नभएको मन्त्रालयले उल्लेख गरेको छ । 

अमेरिकी राष्ट्रपतिबाट सन् २०२५ जनवरी २० मा कार्यकारी आदेश जारी गरेर युएसएआइडीबाट सञ्चालित कार्यक्रमहरू ९० दिनका लागि रोकिएको जानकारी पाएको मन्त्रालयले उल्लेख गरेको छ । सोही अनुसार डिजाइनका क्रममा रहेका ती कार्यक्रम पनि रोकिएको मन्त्रालयले जनाएको छ । 

कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्‍चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्याङ्कसँग सम्बन्धित चार वटा कार्यक्रमहरू पनि ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको र युएसएआइडीबाट सन् १९५१ देखि नेपालमा निरन्तर रूपमा अनुदान सहायतामार्फत विभिन्न कार्यक्रम सञ्‍चालन हुँदै आएको जनाएको छ ।