गार्डेन राई
सोलु, फागुन १२ गते । भाइरल ज्वरोका कारण बिरामी माउन्ट एभरेस्ट स्कुलका विद्यार्थीको निःशुल्क स्वास्थ्य उपचार गरिएको छ । सोलु दुधकुण्ड नगरपालिका, जिल्ला अस्पताल फाप्लु र स्वास्थ्य कार्यालय सोलुखुम्बुको संयुक्त सहकार्यमा एक दिने स्वास्थ्य शिविरको आयोजना गरी भाइरल ज्वरोका कारण बिरामी विद्यार्थीको आज निःशुल्क स्वास्थ्य उपचार गरिएको हो ।
माउन्ट एभरेस्ट इङ्लिश सेकेण्डरी स्कुलका विद्यार्थी भाइरल ज्वरोका कारण बिरामी भएको थाहा पाएपछि नगरपालिकाको अगुवाइमा स्वास्थ्य शिविर सञ्चालन गरिएको सोलु दुधकुण्ड नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाको भनाइ छ ।
उहाँले नगरपालिका मातहत रहेका सरकारी वा निजी विद्यालयको शैक्षिक क्रियाकलापमा ध्यान दिएको बताउँदै गुणस्तर शिक्षाका लागि नगरपालिकाले विशेष चासोका साथ सामुदायिक विद्यालय व्यवस्थापनका लागि कार्यविधि निर्माण गरेको बताउनुभयो ।
आज ९४ जना छात्रा र ७८ जना छात्रगरी एकसय ७२ जना विद्यार्थीको निःशुल्क स्वास्थ्य उपचार गरिएको सोलु दुधकुण्ड नगरपालिका जनस्वास्थ्य निरीक्षक सुवास तामाङले जानकारी दिनुभयो ।
विद्यालयका बिरामी विद्यार्थीलाई आवश्यक स्वास्थ्य उपचार र मनोपरामर्श प्रदान कार्यमा नगरपालिकाले चासो देखाउँदा विद्यालयको शैक्षिक गतिविधिमा टेवा पुगेको माउन्ट एभरेस्ट इङ्लिश सेकेण्डरी स्कुलका प्रिन्सिपल दिवस मुखियाले बताउनुभयो ।
सोलु दुधकुण्ड नगरपालिका जनस्वास्थ्य निरीक्षक सुवास तामाङले उपचारका लागि आवश्यक स्वास्थ्य उपचारका सामग्रीहरू संयुक्त रूपमा उपलब्ध गरिएको बताउँदै विद्यार्थीलाई औषधी समेत निःशुल्क रूपमा प्रदान गरिएको बताउनुभयो ।
सङ्क्रमित विद्यार्थी र लक्षण देखिएलाई उपचार गरिएको र अन्यलाई मनोपरामर्श प्रदान गरिएको जिल्ला अस्पताल फाप्लुका निमित्त मेडिकल सुपरिटेन्डेन्ट श्रीया पङ्गेनीले बताउनुभयो । उहाँका अनुसार ५ जना विद्यार्थीलाई जिल्ला अस्पताल फाप्लुमा थप उपचारका लागि रिफर गरिएको छ । विद्यालयमै निःशुल्क रूपमा स्वास्थ्य उपचार गराउन पाउँदा अभिभावकहरूले खुसी व्यक्त गरेका छन् ।
भाइरल ज्वरोका कारण फागुन ९ देखि ११ गतेसम्म विद्यालय बन्द गरिएको थियो । स्वास्थ्य उपचारसँगै विद्यार्थीको अवस्था सामान्य रहेको र आज १२ गतेदेखि विद्यालयको खुलेको प्रिन्सिपल दिवस मुखियाले जानकारी दिनुभयो ।