• १३ फागुन २०८१, मङ्गलबार

समस्यासँग जुध्ने शिक्षा आवश्यक

blog

पृथ्वीमा उत्पत्ति भएका हरेक जीवको आआफ्नै जीवनचक्र हुन्छ र यी सम्पूर्ण जीवमध्ये हामी मानव एउटा बुद्धिमान् तथा विवेकशील प्राणीका रूपमा यस पृथ्वीमा छौँ । अरू जीवले आफ्नो जीवन आफ्नै तरिकाले प्रकृतिसँग आफूलाई समायोजन गर्दै बाँचिरहेका छन् तर यो सबैभन्दा बुद्धिमान् कहलिएका मानवजातिले किन आफूलाई समयसापेक्ष प्रकृति र समाजसँग समायोजन गरी अघि बढ्न नसकेको होला ? आजको २१ औँ शताब्दीमा मानिसले विज्ञान तथा प्रविधिको विकास गरी कृत्रिम बौद्धिकताको पनि विकास गरेर प्रकृतिलाई नै चुनौती दिई मानवनिर्मित मेसिनले मानिसको भावना र समवेदना बुझ्न सक्ने बनाइसकेको समयमा हामीले आफ्नै किशोरावस्थामा पुगेका छोराछोरीको भावना र संवेदना बुझ्न सकेका छैनौँ । 

विश्व स्वास्थ्य सङ्गठन अनुसार १० देखि १९ वर्ष उमेर समूहका केटाकेटीलाई किशोर तथा किशोरी भनेको छ भने नेपालको प्रचलित कानुन अनुसार जन्मेदेखि १८ वर्षका केटाकेटीलाई बालबालिका भनेर उल्लेख गरेको छ । त्यसै गरी नेपाली बृहत् शब्दकोशले ११ देखि १५ वर्षभित्रका केटाकेटीलाई किशोरकिशोरी भनेर व्याख्या गरेको छ । विभिन्न देश तथा शब्दकोशमा बालबालिका तथा किशोरकिशोरीको परिभाषा फरक फरक पाइन्छ । वास्तवमा किशोरकिशोरी भनेको बाल्यावस्थाबाट वयस्क अवस्थातर्फ बढ्दै गरेको तर युवावस्था नभइसकेको अवस्था हो, जसलाई जीवनचक्रको एउटा महत्वपूर्ण अवस्थाका रूपमा हामीले लिनु पर्छ । 

विभिन्न अध्ययनले देखाए अनुसार मान्छेको जीवनकालमा सबैभन्दा महत्वपूर्ण तर जोखिमले भरिएको उमेर नै किशोर अवस्था देखिएको छ । साथै यो किशोर उमेरलाई आँधी र तुफानको उमेर वा तनाव र आवेगको अवस्था भनेर धेरै मनोवैज्ञानिकले व्याख्या पनि गरेका छन् । यो त्यही उमेर अवस्था हो, जसमा किशोरकिशोरीले आफूले भनेका कुरा पूरा भएन वा आफूले चाहे जस्तो भएन भने धेरै रिसाउने र झर्किने गर्दछन् भने कल्पनामा रमाउने, दिवा सपना देख्ने उमेर पनि यही हो । गलत साथीको सङ्गत भएको खण्डमा धूमपान, मध्यपान र लागुऔषध दुव्र्यसन जस्ता कुलतमा फस्ने सम्भावना पनि यही उमेरमा हुन्छ । यही उमेरमा किशोरकिशोरीले आफ्नो घरपरिवार तथा हितैषीबाट अपेक्षित साथ र सहयोग पाएनन् भने उनीहरूको मानसिक स्वास्थ्यमा असर पुगी डिप्रेसनको सिकार भई आत्महत्या जस्तो अप्रिय बाटो रोज्न पुग्छन् । तसर्थ किशोरावस्था एउटा यस्तो संवेदनशील अवस्था हो र योबेला आफ्ना अभिभावकबाट उनीहरूले पाएको माया, शिक्षा, संस्कार र सहयोग आदिले नै उनीहरूको भविष्य निर्धारण गर्दछ ।

मानसिक स्वास्थ्य भन्नाले मनोवैज्ञानिक, संवेगात्मक तथा सामाजिक तन्दुरुस्तीलाई बुझाउँछ । विश्व स्वास्थ्य सङ्गठनले मानसिक समस्यालाई साधारण तथा दैनिक रूपमा आइपर्ने तनाव व्यवस्थापन गर्न कठिनाइ भई दैनिक घरायसी तथा समाजमा योगदान गर्न बाधा भएको अवस्था भनी परिभाषित गरेको छ । शरीर, मन र समाजबिचको अन्तरसम्बन्धले हाम्रो मानसिक स्वास्थ्यलाई प्रभाव पारिरहेको हुन्छ र उक्त अवस्थालाई हामीले मनोसामाजिक अवस्था भन्दछौँ । यदि हाम्रो शरीर, मन र समाजबिच हामीले तारतम्य मिलाउन सकेनौँ भने मन खिन्न हुने, दिक्दारी लाग्ने हुन सक्छ, जसलाई हामीले मनोसामाजिक समस्या भनेर बुझ्दछौँ । यदि यो समस्या बढ्दै गएको खण्डमा गम्भीर मानसिक समस्या देखा पर्न सक्छन् र महत्वपूर्ण कुरा हामीले बुझ्नैपर्ने, सबै मानसिक समस्याका कारण एउटै नहुन पनि सक्छन् । किनभने मानसिक समस्या कुनै वंशाणुगत हुन्छन् भने कुनै सामाजिक कारणले हुन सक्छन् र कुनै कुनै जैविक कारणले पनि उत्पन्न हुने गर्दछन् ।

युनिसेफको आजको आँकडा अनुसार विश्वमा १.६ अर्ब किशोरकिशोरी रहेका छन्, जुन विश्व जनसङ्ख्याको १६ प्रतिशत हुन आउँछ । त्यसै गरी राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा १४ वर्षमुनिका बालबालिका २७.८३ प्रतिशत रहेका छन् । माथि उल्लिखित तथ्याङ्कलाई हेर्ने हो भने चाहे त्यो विश्व मानचित्र होस् या नेपाल, बालबालिका भनौँ या किशोरावस्थामा पुगेका केटाकेटी वा युवाको सङ्ख्या उल्लेख्य देखिन्छ । जसले राष्ट्र तथा विश्वको भविष्य निर्धारण गर्ने छन् तर आज यी कर्णधारमा मानसिक तथा भावनात्मक पक्षको विकासमा कमी भएको देखिन्छ । विश्व स्वास्थ्य 

सङ्गठनले सार्वजनिक गरेको ग्लोबल तथ्याङ्क अनुसार १० देखि १९ वर्ष उमेर समूहका प्रत्येक सात जनामध्ये एक जनामा मानसिक समस्या देखाएको छ । साथै १५ देखि २९ वर्ष उमेर समूहको कुल मृत्युमा आत्महत्या चौथो स्थानमा रहेको पनि देखाएको छ ।

हाल केही अध्ययनले किशोरकिशोरीलाई मानसिक स्वास्थ्यमा असर पार्ने केही प्रमुख कुराबारे उल्लेख गरेका छन् । यदि कुनै किशोरकिशोरीले उनीहरूको बाल्यावस्थामा सही तरिकाले हुर्काइ, पोषण उत्प्रेरणा, सिकाइ, अन्तर्क्रियाको अवसर पाएका छैनन् र सधैँ नकारात्मक व्यवहारको सामना गर्नु परेको छ भने पछि किशोरावस्थामा उनीहरूको मानसिक स्वास्थ्यमा असर देखिन्छ । बाल्यावस्थामा घरपरिवारमा वा बाहिर कतै उनीहरू यदि कुनै लैङ्गिक वा यौनिक हिंसाको सिकार भएका थिए भने पनि त्यसको असर किशोरावस्थामा उनीहरूको मानसिक स्वास्थ्यमा देखिन्छ । त्यसै गरी उनीहरूको बाल्यावस्थामा चाहे त्यो विद्यालयमा शिक्षकले दिएको यातना वा तनाव होस् या कलेजमा साथीभाइ वा प्रोफेसरले दिएको जस्तोसुकै तनाव होस्, त्यसको प्रभाव किशोरावस्थामा उनीहरूको मानसिक स्वास्थ्यमा देखा पर्न सक्छ । आजभोलि के बालक, के किशोरकिशोरी, के वृद्धवृद्धा सबैको हात हातमा मोबाइल छ । सदुपयोग गर्न जाने सबैको मित्र, नजाने शत्रु पनि भएको छ त्यही मोबाइल । मोबाइलको अत्यधिक प्रयोगले टेक्नोस्ट्रेस नामक समस्या अहिले व्यापक रूपमा देखा परेको छ । यस समस्याले निद्रा नपर्ने जसले गर्दा तनाव सिर्जना भई मनोसामाजिक समस्या देखा पर्ने हुन्छ र फलस्वरूप मानसिक स्वास्थ्यमा प्रभाव पार्दछ ।

हिजोआज युवापुस्तामा मानसिक समस्याका कारण डिप्रेसनमा गई आत्महत्याको बाटो रोजेका घटना बढेको कुरा सामाजिक सञ्जालका साथै विभिन्न सञ्चार माध्यममा समाचारका रूपमा धेरै नै आउन थालेका छन् । यसरी युवापुस्ताले स्वैच्छिक मृत्युवरणको बाटो रोज्नु भनेको आजको युवापुस्ता भावनात्मक, मानसिक र सामाजिक रूपमा कमजोर हुँदै जानु हो । सबैको आआफ्नै समस्या होलान्, समस्या नभएको मान्छे सायद यो दुनियाँमा कोही छैनन् । मान्छे आफूले परिकल्पना गरेको भनौँ वा सोचेका र देखेका सबै सपना सजिलै पूरा गर्न र प्राप्त गर्न कहाँ सजिलो छ र ? ती देखेका सपनालाई पूर्णता दिन कठिन मेहनत र लगनशीलता साथै धैर्य चाहिन्छ भने कहिलेकाहीँ ती परिकल्पना गरेका र देखेका सबै सपना पूरा नहुन पनि सक्छन् भन्ने कुरा हाम्रा युवापुस्ताले बुझ्न जरुरी छ र हामीले बुझाउन पनि सक्नु पर्छ । यदि कुनै समयमा आफूले कुनै गल्ती गरेको भए पनि वा आफूले कुनै गल्ती नगरेको खण्डमा आफ्नो विद्यालय, कलेज वा कार्यक्षेत्रमा कसैले अनावश्यक मानसिक तनाव दिइरहेका छन् भने पनि हाम्रा बालबालिका तथा किशोरकिशोरीले आफ्ना अभिभावकलाई निर्धक्कसँग आफ्नो समस्या राख्ने वातावरणको सिर्जना हामीले हाम्रो परिवारमा गर्न जरुरी हुन्छ ।

हाम्रो जीवनमा धेरै उतारचढाव आउँछन् र आउन सक्छन् । तसर्थ हामी दुःख, पीडा तथा समस्यामा छौँ भने हतास नभई समाधानको खोजी गरौँ । आजकल धेरै मानिस शारीरिक कार्यभन्दा बौद्धिक कार्यमा व्यस्त हुनु, युवापुस्ताले सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्नु र साना बालबच्चाले पनि मोबाइल, ट्याब्लेट र आइप्याड जस्ता उपकरणमा आफ्नो धेरै समय व्यतीत गर्नाले नै सायद उनीहरू भावनात्मक, मानसिक र सामाजिक रूपले सबल हुन नसक्नु एउटा मुख्य कारण हुन सक्छ, जसले गर्दा सानोभन्दा सानो समस्या आइपर्दा पनि हतास भई आत्महत्याको बाटो रोज्न पुग्छन् । त्यसैले हामी सम्पूर्ण सरोकारवाला तथा अभिभावकले आफ्ना छोराछोरीलाई शारीरिक रूपले स्वस्थ राख्नुका साथै उनीहरूलाई मानसिक तथा भावनात्मक रूपले पनि स्वस्थ राख्नेतर्फ विचार पु¥याउन जरुरी छ ।

हामी अभिभावकले किशोरावस्थामा पुगेका आफ्ना बाबुनानीलाई जीवनोपयोगी सिप, नैतिक शिक्षा, शारीरिक तथा मानसिक रूपमा आउने परिवर्तनका साथै यौन शिक्षाबारे जानकारी दिन अत्यावश्यक छ । त्यस्तै गरी घरपरिवार तथा समाजमा मानिससँग के कसरी बोल्ने र व्यवहार गर्ने, सिर्जनात्मक कसरी हुने, अन्तरवैयक्तिक सम्बन्ध कसरी स्थापित गर्ने, तनाव व्यवस्थापन कसरी गर्ने साथै सही निर्णय कसरी लिने भनेर पनि सिकाउन जरुरी छ । त्यसका साथसाथै हामीले आफ्ना छोराछोरीको मनोभावना बुझेर उनीहरूको भावनालाई सम्मान गरी उनीहरूको हरेक समस्यालाई नजिकबाट नियालेर समाधान खोज्न सहयोग गर्नु पर्छ । आमाबुवा नै सबैभन्दा नजिकको साथी हो, जसले हरेक सुखदुःखमा साथ दिन्छ भन्ने कुरा छोराछोरीलाई बुझाउन जरुरी छ । उसले आफ्नो सब‌ै समस्या सजिलैसँग आफ्नो अभिभावकसँग राखेर समस्याको समाधान खोज्न सकोस् न कि आत्महत्याको बाटो रोज्न परोस् । तसर्थ मानिस भएर जन्मेपछि समस्या आइरहन्छन्, ती समस्यासँग निडरता साथ जुध्नु पर्छ, काँतर भई भाग्ने होइन । समाधानबिनाको समस्या हुँदैन, त्यसैले आत्महत्याको बाटो रोज्ने होइन, समस्याको समाधान खोजौँ ।