गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १३ गते । बजारमा डिजेल खपत झन्डै सात प्रतिशतले घटेको छ । डिजलको खपतमा ६.६९ प्रतिशतले कमी आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल र ग्यासको खपत बढे पनि डिजलको खपत भने घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ १५ सम्म पेट्रोल ९.४९ प्रतिशतले र खाना पकाउने एलपी ग्यास खपत छ प्रतिशतले बढेको निगमको तथ्याङ्कले देखाएको छ । माघ १५ सम्म छ लाख ९३ हजार ४६२ किलोलिटर डिजेल आयात भएको छ ।
सो अवधिसम्म १५ लाख १६ हजार ९६७ किलोलिटर कुल पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, ग्यास, हवाई इन्धन मटितेल) आयात भएकोमा झन्डै आधा हिस्सा डिजेलको रहेको छ ।
निगमका अनुसार पेट्रोलियम पदार्थको कुल कारोबारमध्ये सबैभन्दा धेरै ५० प्रतिशत कारोबार डिजेलको हुने गरेको छ । २४ प्रतिशत पेट्रोल, १९ प्रतिशत ग्यास, छ प्रतिशत हवाई इन्धन र एक प्रतिशत मटितेलको कारोबार हुने गर्छ ।
निगमका अनुसार गत वर्ष मासिक एक लाख १४ हजार किलोलिटर डिजेल खपत हुने गरेकामा हाल घटेर मासिक एक लाख छ हजार ६८६ किलोलिटरमा झरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को सात महिनामा ६६ अर्ब ४८ करोड दुई लाख रुपियाँ बराबरको डिजेल आयात भएको छ । गत वर्ष सो अवधिमा ७७ अर्ब ४१ करोड ९८ लाख १९ हजार रुपियाँको डिजेल आयात भएको थियो ।
गत आवको तुलनामा चालु आवको सात महिनामा १० अर्ब रुपियाँको डिजेल आयात कम भएको छ । गत वर्षको तुलनामा यो वर्ष अन्तर्राष्ट्रिय बजारमा डिजेलको मूल्य घटेकाले पनि कम रकमको डिजेल आयात भएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न जान्छ । हाल बजारमा डिजेल प्रतिलिटर १५३ रुपियाँ मूल्य रहेको छ ।
निगम प्रवक्ता मनोजकुमार ठाकुरले विकास निर्माणको काम ठप्प हुँदा डिजेलको खपतमा कमी आएको दाबी गर्नुभयो । पछिल्लो समय विद्युतीय गाडीको प्रयोग बढ्दै गएकाले पनि डिजेलको खपतमा सामान्य कमी आएको उहाँले जानकारी दिनुभयो ।
इन्धनको तुलनामा बिजुलीबाट चल्ने गाडी सस्तो पर्ने हुँदा विद्युतीय गाडी र स्कुटरको प्रयोग बढ्दै गएको छ । जसका कारण पनि डिजेलको खपतमा सामान्य कमी आएको देखिन्छ । विशेष गरी डिजेल विकास निर्माण, औद्योगिक क्षेत्र, मालवाहक र ठुला सवारीसाधनमा बढी प्रयोग हुने गर्छ छ ।
औद्योगिक क्षेत्रमा डिजेलको खपत २५ देखि ३० प्रतिशत हुने गरेको छ । पछिल्लो समय उद्योगहरू पूर्ण रूपमा सञ्चालन नहुँदा डिजेलको खपतमा कमी आएको हो । घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले पछिल्लो समय साना तथा मझौला उद्योग पनि ४० प्रतिशत मात्र सञ्चालनमा आएका छन् ।
आर्थिक गतिविधिमा सङ्कुचन आई बजारमा माग कम हुँदा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन आउन नसकेको उहाँको भनाइ छ । सञ्चालनमा आएका उद्योगले पनि क्षमता अनुसार उत्पादन गर्न नसकेको उहाँको भनाइ छ ।