• १० फागुन २०८१, शनिबार

माझी समुदायको लदी पूजाका अवसरमा बिदा दिने निर्णय

blog

बागमती प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठक । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, फागुन ९ गते ।
माझी समुदायको विशेष पर्व लदी पूजाका अवसरमा बागमती प्रदेश सरकारले यही फागुन २० गते बिदा दिने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौँडामा शुक्रबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले माझी समुदायको विशेष पर्व लदी पूजाका अवसरमा बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले माझी समुदायको विशेष पर्व लदी पूजाका अवसरमा माझी समुदायलाई बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले लदी पूजाका अवसरमा यही फागुन २० गतेका दिन माझी समुदायलाई बिदा दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको बताउनुभयो ।

यसअघि नेपाल माझी उत्थान सङ्घ केन्द्रीय समितिले लदी(कोशी) पूजाका अवसरमा बागमती प्रदेश सरकारसँग सार्वजनिक बिदा दिन माग गरेको थियोे ।

सङ्घले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङलाई गत माघको अन्तिम साता ज्ञापनपत्र बुझाउँदै नेपालमा रहेका विभिन्न जातजातिहरू मध्ये छुट्टै पहिचान र विषेशता बोकेको माझी जातिको प्रमुख चाड लदी(कोशी) पूजाका सार्वजनिक बिदा दिने निर्णय गर्न माग गरेको थियो ।

माझी समुदायको नेपालको मध्य पहाडी, भित्री मधेश र तराईका जिल्लाहरूमा प्रमुख बसोवास रहेको छ । परम्परादेखि नदी, खोलामा निर्भर माझीहरूको पुर्ख्यौली पेसा माछा मार्ने र डुङ्गा चलाउने भएता पनि हाल कृषि पेसालाई मुख्य पेसाको रूपमा लिँदै आएका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिहरूको बसोवास प्रायःजसो नदी किनारमा रहेको छ ।