• ९ फागुन २०८१, शुक्रबार

एपीएफ स्कुल कीर्तिपुरले जित्यो महानिरीक्षक रनिङ्ग ट्रफी

blog

विजेता एपिएफ स्कुल, कीर्तिपुरलाई उपाधि प्रदान गर्नुहुँदै सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल। साथमा विशिष्ट अतिथि र विजेता स्कुलका खेलाडी । तस्बिरः एपिएफ

काठमाडौँ, फागुन ८ गते । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा ‘नेपाल एपिएफ स्कुल कीर्तिपुरको २०औँ स्थापना दिवस’ तथा ‘दोस्रो एनएपिएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८१’ सम्पन्न भएको छ । 

बिहीबार भएको फुटबलको फाइनमा नेपाल एपिएफ स्कुल कीर्तिपुरले सैनिक आवासीय महाविद्यालय सल्लाघारीलाई ५–० गोलको अन्तरले पराजित गरी विजयी भएको हो ।

महानिरीक्षक अर्यालले स्थापना दिवसको अवसरमा नेपाल एपिएफ स्कुल कीर्तिपुरलाई सहयोग पुर्‍याउनु हुने महानुभाव तथा सङ्घसंस्थालाई कदरपत्र प्रदान गर्नुकासाथै सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको उपाधि जित्न सफल नेपाल एपिएफ स्कुल कीर्तिपुर तथा उत्कृष्ट खेलाडीलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।  


महानिरीक्षक अर्यालले स्थापना दिवसले विद्यालय व्यवस्थापन समिती, शिक्षक, शिक्षिका तथा छात्रछात्रामा थप हौसला र ऊर्जा मिलोस् भन्ने शुमकाना व्यक्त गर्नुहुँदै विद्यालयको शैक्षिक अवस्थालाई गति र रफ्तारमा ल्याउनका लागि विद्यालय परिवार, अभिभावक, सहयोगी सङ्घसंस्था लगायत सबैमा हार्दिक आभार प्रकट गर्नुभयो ।

उहाँले विद्यालयले शिक्षा र खेलकुदको माध्यमबाट विद्यार्थीले आफ्नो भाग्य रेखा कोर्नसक्छ भन्ने कुरालाई आत्मसाथ गरी आयोजना गर्दै आइरहेको खेलकुद प्रतियोगिताले विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक र व्यावसायिक जीवनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

महानिरीक्षक अर्यालले विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षाको गुणस्तरलाई अन्य विद्यालय भन्दा फरक तवरबाट अगाडि बढाउँदै लैजानुपर्ने बताउनु हुँदै नेपाल एपीएफ स्कुल नेपालकै उत्कृष्ट विद्यालयभित्र पर्ने गरी शिक्षण कार्यलाई समयानुकुल परिमार्जन र वैज्ञानिक ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले विद्या व्यक्तिको आभूषण र नैतिक व्यक्तिको शक्ति हो भन्ने कुरालाई मध्यनजर गर्दै नैतिक शिक्षालाई विद्यालय तहबाट अध्यापन अभ्यास गराउनेतर्फ विद्यालय परिवार तथा शिक्षक शिक्षिकामा ध्यान जानु आवश्यक रहेको बताउनुहुँदै आजको यस अवस्थामा युवामा देखिएको लागुऔषध दुर्व्यसनीको समस्या व्यक्ति, परिवार र समाजमा मात्र नभई सम्पूर्ण राज्यलाई नै पर्ने असरको बारेमा विद्यालय तहबाट प्रशिक्षित गराउन आवश्यक रहेको बताउनुभयो ।


महानिरीक्षक अर्यालले सङ्गठनले विद्यालयलाई दिनुपर्ने साथ र सहयोगलाई कुनै पनि कसर बाँकी नराखेको तथा विद्यार्थीलाई उचित शिक्षा दिने कार्यमा समेत सङ्गठनले कुनै पनि सम्झौता नराखेको बताउनुहुँदै अभिभावक वर्गले आफ्ना सन्ततिको बारेमा विशेष चासो राखी विद्यालयलाई आवश्यक सुझाव, सल्लाह, पृष्ठपोषण उपलब्ध गराई आवश्यक सहयोग र सहकार्य गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतियोगितामा उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट एक र बाँकेको नेपाल एपिएफ कोहलपुरबाट एक गरेर १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको उद्घाटन माघ २० गते सशस्त्र प्रहरी बल नेपाल मानव स्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहालले गर्नुभएको थियो।