• ९ फागुन २०८१, शुक्रबार

जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफा समितिद्वारा पारित

blog

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक । तस्बिर: न्यूज एजेन्सी नेपाल

काठमाडौँ, फागुन ८ गते । जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरू प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले सर्वसम्मत पारित गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले विधेयकको दफा १७ बाहेक सबै दफाहरू पारित गरेको समिति सभापति दीपकबहादुर सिंहले बताउनुभयो ।

उहाँले विधेयकमा भएको भाषिक त्रुटीलाई अन्तिममा मिलाउने सहमति भएको जानकारी दिनुभयो । उहाँले विधेयकको दफा १७ मा तल्लो तटीय र माथिल्लो तटीय क्षेत्रकोबारे अझै छलफल गर्नुपर्ने भएको कारण अर्को बैठकले टुङ्गो लगाउने बताउनुभयो । उहाँले उक्त दफासहित विधेयकमाथि गहन छलफल गरेर लामो समयसम्म कानुन संशोधन गर्नु नपर्ने गरी प्रतिवेदन बुझाउने बताउनुभयो ।

‘‘आज जलविद्युत् विधेयकमा दफा १७ को बाँकी रह्यो । बाँकी सम्पुर्ण दफाहरू हामीले पास गरेका छौं । दफामा नमिलेको भाषिक शुद्धता अन्तिममा मिलाउने गरी सहमति भएको छ ।,’’ समिति सभापति सिंहले भन्नुभयो, ‘‘दफा १७ मा तल्लो तटीय क्षेत्र र माथिल्लो तटीय क्षेत्रको बारेमा ज्यादै छलफल गर्नुपर्ने भएकाले यो विधेयक अर्को बैठकमा राखिकन गहन छलफल गरिकन जलस्रोत विधेयकलाई यो समितिले राष्ट्रहित, जनहित बनाई ६० लाख नेपाली जनताको जुन सेयर छ त्यसलाई पनि संरक्षण गरिकन विधेयकलाई लामो समयसम्म संशोधन गर्नु नपर्नेगरी सदनमा पेस गर्छौ ।’’

उहाँले विद्युत् क्षेत्रमा रहेको ६० लाख नागरिकको सेयर संरक्षण गर्ने गरी विधेयक आउने दाबी गर्नुभयो ।