• ९ फागुन २०८१, शुक्रबार

'शिक्षा सुधारमा नीति निर्माण प्रभावकारी हुनुपर्छ'

blog

सन्तोष सुवेदी

कास्की, फागुन ८ गते । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गुणस्तरीय, समावेशी, प्रविधिमैत्री तथा व्यावसायिक शिक्षा प्रणाली निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बिहीबार पोखरामा एनसिई नेपालद्वारा आयोजित “गण्डकी प्रदेश स्तरीय सार्वजनिक शिक्षा सम्मेलन २०८१” लाई सम्बोधन गर्दै मन्त्री थापाले शिक्षा सुधारका लागि नीति निर्माण मात्र नभई प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले प्रदेशभर सार्वजनिक शिक्षाका अवसर, चुनौती तथा आवश्यक रणनीतिबारे गहन छलफल गरिएको जानकारी दिनुभयो ।

“शिक्षा कुनै एक संस्था वा निकायको मात्र दायित्व होइन, यो सरकार, सरोकारवाला निकाय, शिक्षाविद्, शिक्षक, विद्यार्थी तथा अभिभावक सबैको साझा प्रयासको परिणाम हो । सार्वजनिक शिक्षालाई सुदृढ गर्न यस्ता बहस र विचार–विमर्श अत्यन्त आवश्यक छन्”, उहाँले भन्नुभयो ।  

गुणस्तरीय शिक्षाका लागि गण्डकी प्रदेश सरकारले प्रभावकारी नीति तथा कार्यक्रममार्फत सुधार ल्याउने योजना अघि बढाइरहेको उहाँले उल्लेख गर्नुभयो । “सबै बालबालिकाले समान अवसरसहित शिक्षाको पहुँच प्राप्त गर्ने वातावरण सिर्जना गर्नु हाम्रो प्रमुख लक्ष्य हो”, उहाँले भन्नुभयो ।

मन्त्री थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन सरकार, शिक्षा क्षेत्रमा क्रियाशील संघसंस्था, शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदायको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले यस्ता सम्मेलनहरूले नीति निर्माण र कार्यान्वयनमा प्रभावकारी योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सम्मेलन सफल बनाउन भूमिका खेलेका सम्पूर्ण सहभागी, आयोजक संस्था तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गर्नुभयो ।