• ९ फागुन २०८१, शुक्रबार

बुढीगङ्गाले गर्‍यो प्रदेशबाट आएका योजना प्रदेशमै फिर्ता

blog

मार्तडी समाचारदाता

मार्तडी (बाजुरा), फागुन ८ गते । बुढीगङ्गा नगरपालिकाले ससर्त अनुदानका निर्माण कार्ययोजना फिर्ता पठाएको छ । आर्थिक वर्ष २०८१/८२ सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको ससर्त अनुदानका योजना नगरपालिकाले फिर्ता पठाएको पाइएको छ । गत पुस २५ गते नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार प्रदेश सरकारले हस्तान्तरण गरेका विभिन्न आयोजना निर्माण गर्न नसकिने भन्दै सम्बन्धित मन्त्रालयलाई फिर्ता पठाइएको छ । 

नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्यहरू लालबहादुर थापा, प्रकाशबहादुर  शाह, पूर्वप्रदेश प्रमुख देवराज जोशीको गृहपालिकाबाटै योजनाहरू कार्यान्वयन गर्न नसक्दा फिर्ता गरिएका हुन् । बुढीगङ्गा नगरपालिकका प्रमुख रामबहादुर बानियाँले यहाँको विकासमुखी योजना नभएका कारण प्रदेशलाई नै फिर्ता पठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “बुढीगङ्गामा सडक पूर्वाधार, शिक्षा, खानेपानी, स्वास्थ्य, सञ्चारको आवश्यकता हो तर प्रदेश सरकारले आवश्यकताबेगर योजनाहरू छनोट गरेको छ, कार्यकर्ता पोस्ने र व्यक्तिपिच्छे योजना दिएको हुँदा प्रदेश सरकारलाई नै योजना फिर्ता गरिएको हो ।” उहाँका अनुसार बुढीगङ्गा नगरपालिकाले १० लाख रुपियाँभन्दामाथिका निर्माण योजना ठेक्कामार्फत निर्माण गर्ने पालिकाको नीति छ तर यसमा उपभोक्ताले ठेक्का अनुसार काम गर्न नमानेपछि स्वयम् प्रदेश सरकारलाई नै योजना बुझाएको उहाँले बताउनुभयो । प्रदेश सरकाले बुढीगङ्गा नगरपालिकामा २५ लाख रुपियाँ बराबरका धेरै योजना छनोट गरेको थियो ।