अमरराज नहर्की
तनहुँ, फागुन ७ गते । भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, संवर्धन र विकास गर्ने उद्देश्यले दमौलीमा तीनदिने बहुजातीय सांस्कृतिक महोत्सव बुधबारबाट सुरु भएको छ ।
व्यास नगरपालिकाको संरक्षकत्वमा व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको समन्वयमा सुरु गरिएको महोत्सव फागुन ९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।
सो अवसरमा सांसद श्रेष्ठले आफ्नो संस्कृति र संस्कार गुमाए स्वयम् व्यक्ति र देशको पहिचान नै गुम्ने हुँदा संरक्षणको दायित्व सबैको भएको बताउनुभयो । व्यास नगरपालिकाले संरक्षणको लागि चालेको कदमले पुरानो भाषा, संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई ज्ञान दिन मद्धत पुगेको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले यस्ता महोत्सवले विभिन्न जातजातिका संस्कार, संस्कृति, धार्मिक, सांस्कृतिक क्षेत्रको संरक्षणलाई प्रोत्साहन गर्ने बताउनुभयो ।
व्यास नगर प्रमुख एवम् व्यास नगर प्रज्ञा प्रतिष्ठानका कुलपति वैकुण्ठ न्यौपानेले ओझेलमा परेको कला, संस्कृति र भाषालाई संरक्षण, संवर्धनसँगै विकासका लागि महोत्सव गरिएको बताउनुभयो। साथै महोत्सवले संस्कृति, इतिहास, पुरातात्विक क्षेत्र लोपोन्मुख अवस्थामा पुगेकाले संरक्षणमा टेवा पुग्ने अपेक्ष गरिएको उहाँले बताउनुभयो । नगर प्रमुख न्यौपानेले भन्नुभयो, ‘यस महोत्सवले ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासका लागि अध्ययन, अनुसन्धान, उत्खनन तथा प्रचारप्रसार गर्न टेवा पुग्ने विश्वास गरेका छौं ।’
महोत्सवले विशेषगरी सिर्जनशीलताको प्रवर्धन र परिचालन गरी स्थानीय जनसहभागिता अभिवृद्धि गर्दै सामुदायिक विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको उपप्रमुख इन्दिरा दरै बताउनुहुन्छ । समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्न थप टेवा पुग्ने व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख केदार आचार्यले बताउनुभयो ।
संस्कृति भनेको देशको मूल परिचय भएको यसको जर्गेना गर्न महोत्सव गरिएको प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपाने बताउनुहुन्छ । कला तथा संस्कृति विभाग संयोजक देवीबहादुर बस्नेतले नगरपालिकाभित्रका ऐतिहासिक, पौराणिक, पुरातात्विक, पर्यटकीय क्षेत्रका साथै विभिन्न समुदायका कला, संस्कार, संस्कृति लोपोन्मुख अवस्थामा पुगेकाले संरक्षणमा प्रोत्साहन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।
प्रचारप्रसार संयोजक अन्जना तिमल्सेनाले महोत्सवले ललितकला, मूर्तिकला र चित्रकलाको प्रवर्धन गरिएको बताउनुभयो । कार्यक्रममा जातीय, सांस्कृतिक तथा कलाकार संयोजक मेघनाथ रिमालले उत्कृष्ट झाँकी र प्रस्तुति दिनेलाई पुरस्कारको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
नगरपालिकाभित्रका करिब १९ समुदायको मौलिकता झल्कने गरी संस्कृतिको प्रस्तुति भइरहेको बताउनुभयो । विशेषगरी लोपोन्मुख संस्कृति प्रस्तुत गर्न महोत्सवले प्रोत्साहन गर्ने रिमालले बताउनुभयो ।
कार्यक्रममा बालन नाच, भजन, चुड्का, कौराहा, सोरठी, स्वराही, पाउदुरे, शङ्खध्वनि, झ्याउरे, घाँटु नाचका साथै मूर्ति, चित्रकला लगायतको प्रदर्शनी गरिएको छ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।