• ९ फागुन २०८१, शुक्रबार

प्रजातन्त्र दिवस विशेष कुराकानी

यसरी बन्यो २००७ सालमा क्रान्तिको जग

blog

नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ ।

काठमाडौँ, फागुन ७ गते ।  “हामी स्कुल पढ्ने केटा सबैलाई यी कांग्रेसी मोराहरु भन्थे, नेपाली कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङ भन्नुहुन्छ, “दार्जिलिङमा पढ्ने सबैले गोर्खा लिगको नारा लगाइरहेका हुन्थ्यो । २००७ सालभन्दा अगाडि दार्जिलिङमा पढ्ने केटाले इलाममा पर्चा छोड्दा पक्रेर धनकुटा लगेको थियो ।”

नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद (बीपी) कोइराला गोर्खा लिगका नेता भेट्न दार्जिलिङ पुग्नुभयो । 

नेता गुरुङले भन्नुभयो, “बीपी कोइराला दार्जिलिङमा आएर धरणीधर कोइरालासँग बसेर त्यहीबाट गोर्खा लिगले केही गर्‍यो भने त्यसैको थ्रुबाट नेपालमा आन्दोलन गराउने भन्ने बीपीलाई लाग्यो । तर, गोर्खा लिगले जुन ढङ्गले समर्थन गर्नुपर्थ्यो त्यो भएन । किनभने, गोर्खा लिगमा अलिकति राणा पक्षका थिए ।”

तत्कालीन समयमा राणा शासकले औपचारिक विवाह गरेका पत्नीको परिवार र कुनै संस्कार नगरि पत्नी बनाएकाबाट जन्मेका परिवारलाई अलग–अलग राखियो । यी दुई परिवारलाई ब्याइते र ल्याइते भनेर वर्गीय विभाजन गरियो । 

खासगरी, ल्याइते परिवारबाट रहनुभएका महावीर शमशेर, सुवर्ण शमशेर र माधव शमशेरलाई अन्यत्र पठाइयो ।

नेता गुरुङले भन्नुभयो, “काठमाडौँमा प्राय गरेर ब्याइतेपटिका मान्छे मात्रै बस्न, बसाउन लगे । अनि, ल्याइतेपटिकोलाई बाहिर पठाउन थाले । त्यो बाहिर पठाउनेमध्येमा सुवर्ण शमशेरलाई वीरगञ्ज पठाइयो । महावीर शमशेरलाई इलाम र माधव शमशेरलाई धनकुटा पठाइयो । सुवर्णजीको वीरगञ्जमा खेतीपाती थियो । सुवर्णजी, महावीर शमशेर उहाँहरुको कलकत्तामा व्यापार, व्यवसायसँगै भेट हुन थाल्यो । ल्याइतेपटि र ब्याइतेपटिको बिचमा झगडा सुरु भयो ।”

नेता गुरुङले राणाले यसरी वर्ग छुट्याएपछि आन्तरिक विभाजन सुरु भएको र यसले पनि २००७ सालको क्रान्तिको जग निर्माण गरेको भनाइ राख्नुभयो । 

त्यस बेला बीपी कोइरालाको बुवा कृष्णप्रसाद कोइरालाले जनताको पीडाको सशक्त सम्झना स्वरुप राजालाई झुत्रो कपडाको पोको पार्सल पठाउनुभएको थियो ।

यता, नेता बीपी कोइरालाको संगत इण्डियामा समाजवादी नेता जयप्रकाश नारायणसँग हुँदै थियो । भारतको स्वतन्त्रता आन्दोलनमा लागेका कारण बीपीको भारतीय नेतासँग सम्बन्ध राम्रो थियो । एक दिन, सङ्गठनको गतिविधिमा सक्रिय हुने क्रममा बीपी पक्राउ पर्नुभयो ।

नेपाली कांग्रेसका गणेशमान सिंह लगायतका प्रमुख नेताले बीपी कोइरालाको रिहाइका लागि इण्डियामा महात्मा गान्धिसँग भेट गर्नुभयो । यो कुरा तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले थाहा पाए र बीपीको रिहाइसँगै एक लाख रुपियाँ दिएर चारभञ्ज्याङ कटाउने निर्णय गरे । 

नेता गुरुङले भन्नुभयो, “बीपीलाई मोहन शमशेरले भने रे, ‘बाजे तिमी पनि हामी जस्तै हुन खोजेको ?’ हामी जस्तो हुनलाई त पुर्परोमा लेखेर आउनुपर्छ ।”

प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका नेता कुलबहादुर (केबी) गुरुङसँग गरिएको  संवाद :

भिडियो : मनोजरत्न शाही 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।