• ९ फागुन २०८१, शुक्रबार

अलपत्र बँदेल र बङ्गुर क्रस योजना

blog

बङ्गुर अध्ययन तथा अनुसन्धानको जिम्मा पाएको देशको एक मात्र राष्ट्रिय बङ्गुर अनुसन्धान कार्यालय । तस्बिर: गोरखापत्र

कविराज घिमिरे 

हिले, फागुन ७ गते । बँदेल र बङ्गुरलाई क्रस गराई नयाँ जातको विकासको लागि नीति बने पनि कार्यविधि नबन्दा अनुसन्धान तथा व्यावसायिक उत्पादन अघि बढ्न सकेको छैन । सरकारले जारी गरेको राष्ट्रिय पशुपन्छी प्रजनन नीति, २०७८ को दफा १०.७.४ अनुसार, नस्ल सुधारको लागि स्थानीय तथा जङ्गली जातबिच क्रस गराउने अनुमति दिइएको छ । जहाँ बँदेल र बङ्गुरबिच क्रस गराउन पाइने उल्लेख छ । तर नीति जारी भएको तिन वर्ष बित्न लाग्दासमेत कार्यविधि नबन्दा अनुसन्धान कार्य नै अघि बढ्न सकेको छैन ।  

बङ्गुर अध्ययन तथा अनुसन्धानको जिम्मा पाएको देशको एक मात्र राष्ट्रिय बङ्गुर अनुसन्धान कार्यक्रम, पाख्रीबास धनकुटाले कार्यविधि नबन्दा अनुसन्धानको काम अघि बढाउन नसकिएको जनाएको छ । केन्द्रका प्रमुख डा. मनोजकुमार शाहका अनुसार केन्द्र यो अनुसन्धानका लागि तयार रहे पनि कसरी गर्ने बँदेल कहाँबाट ल्याउने भन्ने कार्यविधि नहुँदा समस्या छ । “हामी प्राविधिक पूर्वाधार सम्पूर्ण रूपले तयार छौ, यो अनुसन्धान गर्न सके देशले एउटा नयाँ जात पाउने थियो कृषक थप व्यावसायिक बन्ने थिए तर अहिलेसम्म काम अगाडि बढाउन पाएका छैनौं” शाह भन्नुहुन्छ ।

बँदेल र बङ्गुर क्रस गराउँदा छिटो वृद्धि हुने जात विकास, मासु उत्पादनमा वृद्धि, रोग प्रतिरोधी क्षमता बढ्ने, आयातमा निर्भरता घटाउने, कृषकको आम्दानी वृद्धि गर्ने एक नयाँ उन्नत जात उत्पादन हुनेछ । जसले नेपालका कृषकलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ । नेपालमै विकास भएको नयाँ जातले मासु उत्पादनमा आत्मनिर्भरता ल्याउन मद्दत गर्ने जनाइएको छ । नेपालको मासु उत्पादन र व्यावसायिक बङ्गुर पालनमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने जानकारहरूको भनाइ छ । 

त्यसो सरकारले राष्ट्रिय पशुपन्छी प्रजनन नीति, २०७८ जारी गर्दा उत्साहित भएको कृषकमा अहिले भने यो नीति कार्यान्वयन नहुने हो कि भन्ने चिन्ता देखिन थालेको छ । प्रजनन नीति जारी भएको तिन वर्ष बित्दा पनि काम सुरु नभएकाले यो नीति नीतिमै मात्र सीमित हुने कार्यान्वयन नहुने अवस्था आएको बङ्गुर व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष रुझान राईको भनाइ छ । “नीति त आयो केही होला भन्ने आशा पलाएको थियो तर अहिलेसम्म यसको अनुसन्धान अघि बढ्न नसकेको भन्ने बुझेका छौं यो दुःखद छ । यो चाँडो सुरु हुनुपर्छ” राई भन्नुहुन्छ । 

यो नीति कार्यान्वयनमा आएर नयाँ जात सिफारिस भएको त्यो जातले उपभोक्ता बढ्ने कृषक तथा व्यापारीको भनाइ छ । स्थानीय कृषक दिलकुमार देवानका अनुसार स्थानीय जात नमासी बँदेल र बङ्गुर क्रस गराई नयाँ जाति भित्र्याउन आवश्यक छ । नेपालमा बँदलेको मासुको माग उच्च छ । तर बँदेल चोरी सिकारी तथा मासु उपभोगमा प्रतिबन्ध छ । यो अनुसन्धान हुन सके कृषकले त्यसको फाइदा लिन सक्ने बताइन्छ ।