नेपालगन्ज समाचारदाता
नेपालगन्ज, फागुन ७ गते । वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालित एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाले बाँकेका विभिन्न सामुदायिक वनमा रहेका सिमसार क्षेत्रको पुनरुत्थान गर्दा मानव–वन्यजन्तु द्वन्द्वका घटनामा कमी आउन थालेको छ ।
आयोजनाको कोहलपुर कार्यालयका फिल्ड प्रबन्धक प्रकाश थापाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र १४ तथा कम्दी जैविक मार्गमा नौ गरी २३ वटा पोखरी निर्माण तथा सिमसार क्षेत्रको व्यवस्थापन गरिएको बताउनुभयो । फलस्वरूप पानी खोज्न बस्तीतर्फ आउने वन्यजन्तु वनजङ्गलमा रोकिँदा मानव–वन्यजन्तु द्वन्द्वका घटनामा कमी आउन थालेको छ ।
वनजङ्गलमा पानी नहुँदा पानी खोज्दै मानव बस्तीतर्फ वन्यजन्तु आउँदा मानव र वन्यजन्तुबिचको द्वन्द्वका घटना निकै बढी हुने गरेको तर पछिल्लो समयमा पानी पोखरी निर्माण तथा सिमसार क्षेत्रको पुनरुत्थान गरिँदा वन्यजन्तुको समेत सुरक्षा हुन गएको उहाँले बताउनुभयो । यो काम मानव–वन्यजन्तु द्वन्द्व घटाउन गरिएको जानकारी उहाँले दिनुभयो ।
फिल्ड प्रबन्धक थापाका अनुसार आयोजनाले भूपरिधिस्तरमा संरक्षित क्षेत्र र जैविकमार्ग व्यवस्थापन, वन्यजन्तु संरक्षण तथा व्यवस्थापन (मानव–वन्यजन्तु द्वन्द्व, वन्यजन्तुमैत्री पूर्वाधार विकास कार्यक्रम) दिगो वन व्यवस्थापन, पर्यापर्यटन, वनमा आधारित जीविकोपार्जन, प्राकृतिक स्रोत व्यवस्थापनमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण र वातावरण तथा वातावरणीय सुरक्षालगायतका क्षेत्रमा विभिन्न काम गर्दै आएको जानकारी दिनुभयो । आयोजनाले निर्माण र संरक्षण गरेका पानी पोखरी निकै प्रभावकारी बन्दै गएको सामुदायिक वन उपभोक्ता समूहहरूले जनाएका छन् ।
राप्तीसोनारी गाउँपालिका–८ स्थित घण्टेश्वरी सामुदायिक वनमा रहेको पानीको नाला संरक्षण गरेर पोखरी बनाइएपछि अहिले वन्यजन्तुलाई पानी खान निकै सहज भएको सो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शशिराम केसीले बताउनुभयो । उहाँले अत्यधिक गर्मीका कारण वन क्षेत्रभित्र रहेका पानीका मुहान सुक्दै गएका बेला मानवनिर्मित यस्ता पोखरीले वन्यजन्तुका लागि अत्यन्तै प्रभावकारी काम गरेको बताउनुभयो । पोखरी निर्माणले गर्दा वन्यजन्तुको आहार व्यवस्थापनका साथै सुरक्षासमेत बढेको अध्यक्ष केसीको भनाइ छ ।
घण्टेश्वरी सामुदायिक वनमा संरक्षण गरिएको पोखरी देखाउँदै उहाँले भन्नुभयो, “संरक्षणको अभावमा यहाँको मूल सुक्दै गएको र सामुदायिक वनबाट वन्यजन्तु पानी खान पेरानी गाउँमा छिर्ने गरेका थिए । यसले गर्दा वन्यजन्तुबाट जति बेला पनि जोखिम हुँदै बढ्दै गएको थियो । हाल यो पोखरीको संरक्षण भएपछि यहाँका वन्यजन्तुलाई पर्याप्त पानी उपलब्ध भएको छ । यसले गर्दा बस्ती केही हदसम्म सुरक्षित भएको छ ।”
पाँच सय मिटर लामो सो पोखरीमा बँदेल, चित्तल, चितुवालगायतका जनावर नियमित रूपमा पानी खान आउने गरेको घण्टेश्वरी सामुदायिक वनका अध्यक्ष केसीले बताउनुभयो । यहाँ पानी खान आउने विभिन्न जनावरका खुट्टाका चिह्न प्रशस्त देख्न सकिने भएका छन् । अध्यक्ष केसीले भन्नुभयो, “यो पोखरीसम्म वन्यजन्तु आउँछन्, पानी खाएर फेरि वनजङ्गलतर्फ फर्किने गरेकाले सम्भावित दुर्घटना हुनबाट यहाँको बस्ती जोगिएको छ ।”