• ३२ असार २०८२, बुधबार

पर्यटन शुल्कबाट १५ करोड रुपियाँ सङ्कलन

blog

गार्डेन राई

सोलुखुम्बु, असार ३२ गते । खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन शुल्क बापत एक वर्षमा १५ करोड रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/८२  मा पर्यटन शुल्क बापत १५ करोड ५० लाख ९७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो । 

गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० मा १० करोड ३६ लाख ५२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०८०–८१ मा ११ करोड तीन लाख ४६ हजार रुपियाँ पर्यटन शुल्क बापतको राजस्व सङ्कलन गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभयो । 

तीन आर्थिक वर्षको पर्यटन शुल्क तुलना गर्दा आर्थिक वर्ष २०८१–८२ मा गाउँपालिकाले सबैभन्दा बढी पर्यटन शुल्क बापतको राजस्व सङ्कलन गरेको छ । सार्क राष्ट्र बाहेकका पर्यटकबाट आर्थिक वर्ष २०८१–८२ देखि प्रतिव्यक्ति तीन हजार रुपियाँ पर्यटन शुल्क लिने गरिएकाले राजस्व रकममा बढी देखिएको लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभयो । 

पर्यटन शुल्क बापत सङ्कलन भएको रकम पर्यटन पूर्वाधार विकासका साथै पर्यटकको स्वास्थ्य सेवाका लागि खर्च गरिने खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले बताउनुभयो । उहाँका अनुसार यसै वर्ष पालिकाको विभिन्न स्थानमा इमर्जेन्सी सेल्टर निर्माण गरिने गाउँपालिकाको योजना छ ।

पर्यटकको सुविधाका लागि पर्यटन पदमार्ग निर्माण गर्न चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा रहेको गाउँपालिका अध्यक्ष शेर्पाको भनाइ छ । लुक्ला शुल्क सङ्कलन केन्द्र, जोर सल्ले शुल्क सङ्कलन केन्द्र र लुक्ला हेलिप्याड गरी तीन वटा केन्द्रबाट पर्यटक खुम्बु क्षेत्रको सगरमाथा आधार शिविर, थामे उपत्यका, गोक्यो उपत्यका र खुम्बु उपत्यका भ्रमण गर्न विभिन्न मुलुकबाट पर्यटक आउने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिनुभयो ।  

सार्क राष्ट्र र चीनका पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रुपियाँ र सार्क बाहेकका अन्य मुलुकका पर्यटकबाट प्रतिव्यक्ति तीन हजार रुपियाँ पर्यटन शुल्क लिने गरिएको गाउँपालिकाले जनाएको छ ।