अर्जुन काफ्ले
स्याङ्जा, असार ३२ गते । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले एक लिटर दुधमा पाँच रुपियाँ अनुदान दिएको छ । यहाँको भिरकोट दुग्ध उत्पादक सहकारीलाई एक लाख ३० हजार १३० लिटरको छ लाख ६० हजार ६५० रुपियाँ र आँधीखोला कृषि उद्यम सहकारी संस्थालाई ६९ हजार ७२० लिटर दुधको तीन लाख ४८ हजार छसय रुपियाँ गरी नौ लाख ९९ हजार २५० रुपियाँ अनुदान दिएको हो ।
पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख रूपेश श्रेष्ठले कार्यालयले निकालेको सूचनामा माग भएका तीनमध्ये दुई वटा छनौट गरी अनुदान दिएको बताउनुभयो । कार्यालयले दुई चरणमा गरेर अनुदान दिएको बताउँदै श्रेष्ठले सिधै अनुदानभन्दा उत्पादनको आधारमा प्रभाबकारी देखिएको बताउनुभयो ।
उहाँले सहकारी दुध सङ्कल गरेको दैनिक विवरणको आधारमा अनुदान दिएको बताउनुभयो । यस्तै, कार्यालयले भिरकोट सहकारीलाई ७५ प्रतिशत अनुदानमा एक लाख एक हजार रुपियाँको मिल्क एनोलाइजर प्रदान गरेको हो ।
यस्तै, विज्ञ केन्द्र स्याङ्जाले चापाकोट ९ को केलादी दुग्ध उत्पादक समूहलाई नयाँ गोठ निर्माणमा नौ वटाको ६ लाख ९६ हजार ५१८ रुपियाँ, १० वटा भकारो सुधारको लागि तीन लाख ४५ हजार ६ सय रुपियाँ, ८१ हजारको राँगो, १३ वटा च्याफ कटरको तीन लाख ३१ हजार पाँचसय रुपियाँ, डेरी उपकरण खरिदका एक लाख ४९ हजार ७४० लगायत १६ लाख ३९ हजार ९५३ रुपियाँ बराबरको अनुदान दिएको श्रेष्ठले बताउनुभयो ।
यस्तै, विज्ञ केन्द्रले चापाकोट –९ को सिद्धबाबा एग्रो फर्म एण्ड रिसर्च सेन्टर प्रालिलाई ९५ लाख पाँच प्रतिशत अनुदानमा कृषि ऋण दिएको हो । विज्ञ केन्द्रले आर्थिक वर्ष २०८१–८२ मा चार करोड ५४ लाख चालु र ७० लाख पुँजीगत बजेटमध्ये ८२.६३ प्रतिशत खर्च गरेको छ ।