• २८ फागुन २०८१, बुधबार

अस्थायी टहराको दोस्रो किस्ता निकासा

blog

अस्थायी टहरामा बसेका आठबिसकोट नगरपालिका–१४ का भूकम्पपीडित परिवार । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता 

रुकुमपश्चिम, फागुन ६ गते । रुकुमपश्चिममा भूकम्पबाट घरबासविहीन बनेका प्रभावितको अस्थायी आवास (टहरा) निर्माणको दोस्रो किस्ता बापत्को रकम निकासा भएको छ । भूकम्प गएको १५ महिनापछि सरकारले टहरा निर्माणको रकम निकासा गरेको जनाएको छ । 

रुकुमपश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केन्द्रीय विपत् व्यवस्थापन कोषबाट अस्थायी आवासका लागि भुक्तानी दिन बाँकी रकम जिल्ला विपत् व्यवस्थापन कोषमा प्राप्त भएपछि सम्बन्धित पालिकामा निकासा पठाइएको हो । 

सहायक प्रजिअ रेग्मीले रुकुमपश्चिमका १५ हजार ८८१ जना भूकम्प प्रभावितको टहरा निर्माणबापतको दोस्रो किस्ताको रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत सम्बन्धित पालिकाको विपत् व्यवस्थापन कोषमा पठाइएको बताउनुभयो । यसअघि प्रथम किस्ताबापत २५ हजार रुपियाँका दरले अनुदान रकम प्राप्त गरी टहरा निर्माण गरिसकेका लाभग्राहीको दोस्रो किस्ताका लागि ३९ करोड ७० लाख २५ हजार रुपियाँ निकासा गरिएको हो । 

सरकारले भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० अनुसार दुई किस्तामा टहरा निर्माणको रकम दिने व्यवस्था गरेको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार रुकुमपश्चिममा ३२ हजार ९९६ जना भूकम्पपीडित लाभग्राही कायम भएका छन् । जसमध्ये १६ हजार जनालाई गत आर्थिक वर्षमा नै दोस्रो किस्ताको रकम भुक्तानी भइसकेको छ भने १५ हजार ८८१ जनालाई यस पटक निकासा पठाइएको हो । सम्बन्धित पालिकाको मागको आधारमा नै उक्त रकम निकासा गरिएको हो । 

प्रशासन कार्यालयका अनुसार चौरजहारी नगरपालिकाका तीन हजार ९१२, आठबिसकोट नगरपालिकाका सात हजार ३८१, मुसीकोट नगरपालिकाका एक हजार ६१०, त्रिवेणी गाउँपालिकाका ३३७ जना र बाँफिकोट गाउँपालिकाका दुई हजार ६४१ जना लाभग्राहीका लागि दोस्रो किस्ताको रकम निकासा गरिएको हो । गत आर्थिक वर्षमा चौरजहारीका दुई हजार ९५४, आठबिसकोटका तीन हजार १३, सानीभेरी गाउँपालिकाका पाँच हजार ६४५ र त्रिवेणीका चार हजार ३८८ जना लाभग्राहीलाई दोस्रो किस्ताको रकम उपलब्ध गराइएको थियो । सहायक प्रजिअ रेग्मीले हालसम्म जिल्ला विपद् कोषबाट दोस्रो किस्ताका लागि मात्रै ३१ हजार ८८१ जना लाभग्राहीका लागि ७९ करोड ७० लाख २५ हजार रुपियाँ निकासा भएको जानकारी दिनुभयो । 

पालिकाको खातामा रकम निकासा गएपछि अब लाभग्राहीले दोस्रो किस्ताको रकम पाउने भएका छन् । आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले ढिला गरेर भए पनि दोस्रो किस्ताको रकम निकासा पठाइएको खबर आएको बताउनुभयो ।