• २८ फागुन २०८१, बुधबार

चिनियाँ राष्ट्रपति सी र ज्याक मालगायतका उद्यमीबिच भेटवार्ता

blog

चीनका राष्ट्रपति सी चिनफिङ

बेइजिङ, फागुन ५ गते । चीनका राष्ट्रपति सी चिनफिङले सोमबार अलिबाबाका सहसंस्थापक ज्याक मालगायत निजी क्षेत्रका शीर्ष व्यापारिक नेतृत्वसँग भेटवार्ता गरेको चिनिया सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

एक दशकभन्दा बढी समयअघि सत्तामा आएदेखि नै सीले विश्वको दोस्रो ठुलो अर्थतन्त्रमा राज्यका उद्यमहरूको भूमिकालाई निरन्तर बढावा दिन खोज्नुभएको छ र निजी क्षेत्रको ‘अव्यवस्थित’ विस्तार  हुन नदिन चाहनुहुन्छ ।

उहाँले प्रमुख व्यापारिक दिग्गजहरूलाई भेट्ने तयारी गरिरहनुभएको समाचार गत हप्ता सार्वजनिक भएको थियो ।

देशले रियल स्टेट सङ्कट, निरन्तरको कम खपत र उच्च युवा बेरोजगारीले घेरिएको सुस्त अर्थव्यवस्थासँग जुधिरहेका अवस्थामा राजनीतिक नेतृत्व र उद्यमीबिच भएको भेटवार्तालाई उच्च महत्त्वका साथ हेरिएको छ ।

चीनको सरकारी प्रसारक सिसी टिभीका अनुसार बेइजिङको ग्रेट हल अफ द पिपुलमा भएको बैठकमा राष्ट्रपति सीलाई तालीको गडगडाहटसहित भव्य स्वागत गरिएको भिडियो चिनियाँ सञ्चारमाध्यममा सर्वत्र छाएको थियो ।

सिसी टिभीले तत्काल बैठकको विषयवस्तुबारे विस्तृत विवरण दिएको छैन ।

माको समावेशले अरबपति म्याग्नेटको सम्भावित सार्वजनिक पुनर्वासको सकेत गर्दछ जुन नियामकहरूसँगको विवादपछि वर्षौंपछि चर्चाबाट बाहिर छ ।

पूर्व अङ्ग्रेजी शिक्षक ज्याक माले चीनको सबैभन्दा परिचित र प्रभावशाली निजी कम्पनीको रूपमा प्रविधि कम्पनी अलिबाबाको स्थापना गर्नुभएको थियो ।

अलिबाबाले यसै साता आफ्नो पछिल्लो त्रैमासिक आम्दानी प्रतिवेदन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ र यस वर्ष अहिलेसम्म यसको शेयर४० प्रतिशतभन्दा बढीले बढेको छ ।

सोमबारको बैठकमा विशाल प्रविधि कम्पनी हुवावेका संस्थापक रेन झेङफेई र विशाल विद्युतीय सवारी साधन बिवाई डीका संस्थापक वाङ चुआनफु पनि सहभागी हुनुहुन्थ्यो ।

सी, रेन र वाङले बैठकलाई सम्बोधन गरेको सिसी टीभी फुटेज प्रसारण भए पनि उनीहरूले बोलेको कुराको अडियो वा लिखित विवरण तत्काल उपलब्ध गराइएको छैन ।

ब्याट्री पावरहाउस सीएटीएलका संस्थापक रोबिन जेङ र इन्टरनेट प्लेटफर्म मेइटुआनका सहसंस्थापक वाङ जिङ पनि उक्त कार्यक्रममा सहभागी हुनुभएको छ ।

गत वर्ष अर्थव्यवस्था पाँच प्रतिशतले वृद्धि भएको चीनले महामारीबाट बलियो पुनरुत्थान हुन सङ्घर्ष गरिरहेको छ । यो वृद्धि दशकौँपछिको सबैभन्दा सुस्त थियो ।

बेइजिङले सन् २०२५ मा पनि यस्तै स्तरको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारी करसहित आफ्नो कडा व्यापार नीतिलाई नवीकरण गरेपछि यसले चीनलाई पनि असर गर्ने अनुमानहरू गरिएका छन् । 

ट्रम्पले यसअघि नै चीनबाट हुने सबै आयातमा १० प्रतिशत थप कर लगाउने घोषणा गरिसक्नुभएको छ भने बदलामा बेइजिङले कोइला र ग्यासलाई लक्षित गरी तत्कालै कर वृद्धि गर्ने घोषणा गरिसकेको छ । रासस/एएफपी