काठमाडौं, फागुन ५ गते । नेपालमा आयोडिन प्रयोगकर्ताको अवस्था सुधारोन्मुख भए पनि आयोडिनको कमीले हुने स्वास्थ्य जोखिम कायम छ । उच्च पहाडी भौगोलिक बनावटले गर्दा नेपाली खानामा आयोडिनको कमी हुने हुँदा यसको कमीले हुने जोखिम कायम रहेको जानकारहरु बताउँछन् । आयोडिनको कमीले गलगाँड आउने, जन्मजात बौद्धिक अपाङ्गता, थाइराइड समस्या निम्त्याउँछ ।
नेपालमा विगतको तुलनामा गलगाँड हुने समस्या सुधार भए पनि पहाडी र दुर्गम भेगमा यसको जोखिम रहेको परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखा प्रमुख लीलाविक्रम थापा बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरकारले नुनमा आयोडिनको मात्रा मिसाएर खुवाउन सुरु गरेपछि हाल आयोडिनको कमीले हुने गलगाँडको समस्या जनस्वास्थ्यका समस्याबाट हटेको छ, तर यसबाट हुने जोखिम कायम नै छ ।”
आयोडिनको कमीले गलगाँड आउने, जन्मजात बौद्धिक अपाङ्गता, थाइराइड समस्या निम्त्याउँछ ।
सरकारले १९७३ देखि नुनमा आयोडिन मिसाएर नुन खुवाउन सुरु गरेको थियो । सन् २०१६ मा गरिएको नेपाल नेसनल माएक्रोन्युट्रिन्ट स्टाटस सर्भेक्षणका अनुसार यो कार्यक्रमको सफलताले गर्दा नेपालका ९० प्रतिशतभन्दा बढी घरपरिवारले आयोडिनयुक्त नुन खाने देखाएको छ ।
थापाका अनुसार आयोडिनले गलगाँड तथा हाइपोथाइरोइडिज्म जस्ता समस्या हुनबाट बचाउनेगर्छ । उहाँ भन्नुहुन्छ, “आयोडिनको सही मात्राको प्रयोगले मानसिक तथा शारीरिक वृद्धि विकास हुनुका साथै गलगाँड लगायतका थाइरोइडसम्बन्धी समस्याबाट बचाउँछ ।”
के हो आयोडिन ?
आयोडिन दैनिक रुपमा नभई नहुने पोषक तत्व हो । शरीरमा थाइरोइड हर्मोन उत्पादन गर्न आयोडिन आवश्यक पर्छ । आयोडिन थाइराइड ग्रन्थिलाई सन्तुलनमा राख्नुका साथै मस्तिष्क र सम्पूर्ण स्नायु प्रणालीलाई सञ्चालन गर्न आवश्यक पर्छ । पोषण शाखा प्रमुख थापाले आयोडिनले शारीरिक तथा मानसिक विकासका लागि आवश्यक पर्ने हर्मोन उत्पादन गर्न मद्दत गर्ने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा मानसिक तथा शारिरीक विकासका लागि विभिन्न पोषकतत्व आवश्यक पर्छ । यीमध्ये आयोडिन एक महत्वपूर्ण खनिज तत्व हो । जुन सबै उमेरका मानिस तथा जीवजन्तुलाई चाहिन्छ ।” शरीरको नियमित क्रियाको लागि कोशिकाको कार्य सुचारु राख्नुका साथै दिमागको वृद्धि र विकास गर्न आयोडिनले सहयोग गर्ने थापाको भनाइ छ ।
आयोडिनको कमी देखिने समस्या
आयोडिन सबै उमेर समूहका मानिसलाई आवश्यक पर्छ । पोषण शाखा प्रमुख थापाले आयोडिनको कमीले शारीरिक तथा मानसिक समस्या देखिने गर्छ । आयोडिनको कमीले गलगाँड आउने, शारीरिक र मानसिक रुपमा लाटो, लठ्यौरोपन हुनेजस्ता स्वास्थ्य समस्या निम्तने थापा बताउनुहुन्छ ।
गर्भवतीमा आयोडिनको कमी भएमा भ्रूण खेर जाने, मृत बच्चा जन्मने, जन्मिएका बच्चाको दिमागको विकास पूर्णरुपमा नहुनेजस्ता समस्या देखिन्छन् । बालबालिकामा आयोडिनको कमी भएमा पढाइमा कमजोर हुने, लुलोपनको समस्या निम्तिने, आँखा डेढोपनको समस्या देखिने थापाको भनाइ छ । शरीरमा आयोडिनको मात्रा बढी भएमा थाइरोइड ग्रन्थीमा नकारात्मक असर पारी हाइपरथाइरोइडिज्म र अटोइम्युन थाइरोइड रोग देखिन्छ।
आयोडिनका फाइदा
गर्भावस्थामा
गर्भवतीले दैनिक आयोडिनको सही मात्राको प्रयोगले गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा मद्दत गर्छ । गर्भवतीले दैनिक रुपमा आयोडिनयुक्त नुन खानाले गर्भ तुहिने, शारीरिक विकलाङ्ग भएको बच्चा जन्मिने खतरा कम हुने थापाको भनाइ छ ।गर्भवतीले दैनिक पाँच ग्रामभन्दा कम आयोडिन खाएमा उनीबाट जन्मेको शिशुको दिमागको विकास कम हुने विभिन्न अध्ययनले देखाएको छ । गर्भावस्थादेखि २ वर्षको उमेरसम्म मानिसको दिमागको ८० प्रतिशत विकास भइसक्छ ।
बाल्यावस्थामा
बाल्यावस्थामा आयोडिनको सही मात्राले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मद्दत गर्छ । बालबालिका १२ महिना भएदेखि खानामा आयोडिनयुक्त नुन खुवाएमा बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मद्दत गर्ने थापाको भनाइ छ । साथै बौद्धिक विकास भई बच्चा चनाखो हुन्छन् ।
किशोरावस्थामा
किशोरावस्थामा आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक क्षमतामा वृद्धि हुन्छ जसलेगर्दा पढाइका साथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव पर्ने थापा बताउनुहुन्छ ।
कसरी प्राप्त गर्न सकिन्छ आयोडिन
आयोडिन खानाबाट प्राप्त गर्न सकिन्छ । पाेषण शाखाका प्रमुख थापाका अनुसार आयोडिन विशेषगरी माटोको माथिल्लो तह र समुद्रबाट प्राप्त हुन्छ । समुद्रमा पाइने वनस्पति तथा तरकारीजन्य हरियो खाद्य पदार्थमा आयोडिन पाइन्छ । त्यसबाहेक जमिनमा उमारेका खाद्य पदार्थहरूजस्तै सलगम, बन्दा, पालुङ्गो, ब्रोकाउली आदिबाट प्राप्त गर्न सकिन्छ । थापाका अनुसार नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव भएकोले आयोडिन मिसाएको नुनको माध्यमबाट शरीरमा आयोडिनको मात्रा प्राप्त गर्न सकिन्छ ।
आयोडिन कति आवश्यक पर्छ ?
एक जनालाई जीवनमा एक चिया चम्चा आयोडिन आवश्यक पर्ने थापा बताउनुहुन्छ । वयस्कलाई दैनिक पाँच ग्रामभन्दा कम आयोडिन मिसाइएको नुनको प्रयोग गर्न थापाको सुझाव छ । थापाका अनुसार बालबालिका १२ महिना पूरा भएपछि दिनभरिको खानामा बढीमा दुई ग्राम नुन आवश्यक पर्छ ।