नवीनराज कुइँकेल
लमजुङ, फागन ४ गते । मर्स्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको मर्मत थालिएको छ । आयोजनाको मर्मत थालिएपछि विद्युत् उत्पादन बन्द भएको छ ।
विद्युत गृहमा टर्बाइन र बाँधस्थलको मर्मत सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाले विद्युत् उत्पादन थालेको आठ वर्ष भएको छ । २५-२५ मेगावाटका २ वटा फ्रान्सिस टर्बाइन रहेको उक्त आयोजनामा टर्बाइनको मर्मतसम्भार चाइनाबाट आएको प्राविधिक टिमले गरिरहेको छ ।
शनिबारदेखि सुरु गरिएको मर्मतकार्य एक हप्तामा सक्ने लक्ष्य रहेको आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीले जानकारी दिनुभयो । विद्युत् प्राधिकरणसँग एक हप्ताको समय लिएर मर्मत थालिएको उहाँले बताउनुभयो ।
रन अफ रिभर (पानीको बहावमा आधारित) उक्त परियोजनाको बाँधक्षेत्रमा पनि मर्मत भइरहेको छ । बाँधस्थलमा चाइनिज कम्पनी ब्युरो सातसँग मिलेर नेपाली निर्माण व्यवसायीहरुले मर्मतको काम गरिरहेका छन् भने टर्बाइन मर्मतमा चिनियाँ विषेशज्ञसहित इन्जिनियर तथा प्राविधिकहरु खटिएका छन् ।
बर्खामा खोलामा मिसिएका पहिरोसहितको ढुङ्गामाटो र बालुवाका कणले टर्बाइनका दाँतहरू खियाउने भएकाले हिउँदको समयमा बर्सेनि मर्मत गरिने गरिएको अधिकारीले बताउनुभयो । आयोजनाबाट हिउँदको समयमा २८ देखि ३० मेघावाट विद्युत् उत्पादन हुने गर्दथ्यो । मर्मतको काम सकिनासाथ विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ ।
सन् २०१३ को जनवरीमा निर्माण सुरु गरिएको माथिल्लो मर्स्याङ्दी ’ए’ आयोजनाले २०१७ जनवरीबाट व्यावसायिक विद्युत् उत्पादन थालेको थियो । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी छ ।