मुरारी अधिकारी
धादिङ, फागुन ४ गते । तामाङ भाषामा लेखिएका उखानहरूको सङ्ग्रह 'तामाङ आन' पुस्तकको जिल्लाको सदरमुकाम धादिङबेसीमा एक कार्यक्रमबिच विमोचन गरिएको छ ।
तामाङ भाषा, अङ्ग्रेजी भाषा र समभोटा लिपिमा लेखिएको यो पुस्तक तामाङ भाषा नबुझ्ने पाठकहरूले समेत पढ्न सक्ने गरी तयार पारिएको छ ।
पुस्तकका लेखक बाबुराम फ्युवाका अनुसार डिजिटल प्रविधिसँग पुस्तकलाई समायोजन गर्न अन्तिम कभरमा क्युआर कोड समावेश गरिएको छ । जसलाई स्क्यान गरी पाठकहरूले इलेक्ट्रोनिक पेजमा पढ्न र अडियो स्वरूपमा सुन्न सक्नेछन् ।
'तामाङ आन’ पुस्तकको विमोचन गर्दै तामाङ घेदुङ धादिङका अध्यक्ष दीपक तामाङले यस पुस्तकले तामाङ जातिको भाषा र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विमोचन कार्यक्रममा गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले तामाङ भाषा, संस्कृति र साहित्यलाई संरक्षण गर्न यस्ता पुस्तक प्रकाशन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष लामाले लेखकहरूलाई तामाङ भाषामा थप सिर्जनशील भएर लेखन क्षेत्रमा लाग्न अभिप्रेरित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका टिप्पणीकारहरूले पुस्तक प्रकाशन गर्दा सकारात्मक उखानहरूलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ, खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेकेमान तामाङ लगायतले पुस्तकको महत्वबारे आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
यस पुस्तक धादिङ जिल्लाको तामाङ भाषामा पहिलो औपचारिक पुस्तक रहेको बताइएको छ । पुस्तकले तामाङ भाषा तथा संस्कृतिको जगेर्ना गर्ने विश्वास गरिएको छ ।