नवीनराज कुइँकेल
लमजुङ, फागुन ४ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका –५ चल्लोचिप्लास्थित गैरीगाउँको पहिरोको जोखिम अवस्थाबारे भूगर्भविद्हरुको टोलीले स्थलगत अध्ययन गरेको छ ।
गाउँपालिकाको पहल तथा जिल्ला प्रशासन कार्यालय लमजुङको समन्वयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र खानी तथा भूगर्भ विभागका भूगर्भविद्सहितको टोलीले स्थलगत अध्ययन गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद् राजेन्द्र आचार्य र खानी तथा भूगर्भ विभागका भूगर्भविद् कृष्ण पाण्डेसहितको टोलीले पहिरोको अध्ययन गरेको मर्स्याङ्दी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले जानकारी दिनुभयो । अध्ययन प्रतिवेदन पन्ध्र दिनमा आइपुग्ने उहाँले बताउनुभयो ।
पहिरोको स्थलगत अध्ययनका लागि जनप्रनिधि, कर्मचारी तथा स्थानीय पनि भूगर्भविद्हरु सँगै गएका थिए । गत साउन १२ गते अविरल वर्षासँगै बस्तीमाथिको जमिन चिरा परेर भासिन थालेपछि स्थानीय विस्थापित भएका थिए ।
जमिन चिरा परेर पहिरो जाने जोखिम बढेपछि साउन १३ गतेदेखि गैरीगाउँका ४२ घरधुरी एकसय ८२ जना नजिकैको डाँडागाउँ र विद्यालय वरपर त्रिपाल टाँगेर बसेका थिए । वर्षा रोकिको एक महिनापछि जोखिम कम भएको भन्दै उनीहरु पुनः आफ्नै घर फर्किएका थिए ।
गाउँमाथि जमिन धाँजा फाटेर चिरा परेकाले पुनः बर्खाको समयमा जोखिम बढ्न सक्ने भएकाले भूगर्भविदबाट स्थलगत अध्ययन गरिएको वडाध्यक्ष घनश्याम घलेले बताउनुभयो । अध्ययनबाट प्रतिवेदन प्राप्त भएपछि समाधानका लागि सम्बन्धित निकायमा पहल गरिने उहाँले बताउनुभयो ।