• ८ फागुन २०८१, बिहिबार

तिङरिङ र बोरमा चिया खेती

blog

बागलुङको काठेखोला गाउँपालिका–७ रेशस्थित तिङरिङमा रहेको चिया बगान । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, फागुन ४ गते । बागलुङको काठेखोला गाउँपालिका–७ रेशस्थित तिङरिङ र बोरमा सहकारीमार्फत व्यावसायिक रूपमा चिया खेती सुरु गरिएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम मार्फत जनकल्याण आधारभूत विद्यालयको वनमा चिया खेती गरिएको हो । 

रेश साना किसान सहकारी संस्था लिमिटेडमार्फत तिङरिङसहित पाँच स्थानमा चिया खेती गरिएको रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । विद्यालयको पाखो जमिन १५ वर्षका लागि भाडामा लिइएको र सार्वजनिक जमिनमा पाँच वटा ब्लक बनाएर १ सय ४० रोपनीमा चिया खेती सुरु गरिएको वडाध्यक्ष लामिछानेले बताउनुभयो । 

‘परीक्षणको रूपमा लगाइएको चियाले उत्पादन दिन थालेपछि चिया खेती अवलोकन गर्न आउने पाहुनालाई कोसेलीका रूपमा चियाको ब्रान्ड बनाएर प्रदान गर्न थालेका छौं’ वडाध्यक्ष लामिछानेले भन्नुभयो । 

चिया बगानमा आउजाउ गर्न सडक र खानेपानी लगायतका पूर्वाधार अभाव भएकाले स्थानीय, प्रदेश र सङ्घ सरकारको सहकार्यमा भौतिक संरचना निर्माणमा पहल भइरहेको लामिछानेले बताउनुभयो ।

चिया बगानमा रहेका १ लाख १० हजारभन्दा बढी बिरुवामध्ये ६० हजारले उत्पादन दिन थालेका छन् । लामिछानेका अनुसार, वडा कार्यालयको सहकार्यमा चिया सुकाउने औजार खरिद गरिए पनि पछिल्लो समय ठुलो परिणाममा चिया उत्पादन हुन थालेपछि उद्योग सञ्चालन गर्न सरोकारवाला निकायसँग समन्यव भइरहेको लामिछानेको भनाइ छ ।

चिया उत्पादन धेरै हुन थालेपछि उद्योग सञ्चालनसँगै बजारीकरणमा अन्यौल भइरहेको रेश साना किसान सहकारीका अध्यक्ष उजेली शर्माले बताउनुभयो । प्रशोधित चियाका लागि उपकरणको अभाव हुँदा सहकारीले सोचअनुसार उत्पादन गर्न नसकेको र हाल परम्परागत तरिकाले चिया उत्पादन गरेर पहुनालाई कोसेलीका रूपमा वितरण गर्दैआएको छ ।

बाँझो जमिनलाई उत्पादनमूलक कार्यमा जोडेपछि स्थानीय खुसी छन् । चिया खेतीमार्फत स्थानीयलाई समृद्ध बनाउने वडाको योजना छ । बढ्दो बसाइसराइलाई नियन्त्रण गर्न चियाखेती नमुनायोग्य काम भएको चिया खेती अवलोकनमा पुग्नुभएका गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाँझो जमिनको सदुपयोग गर्दै आर्थिक उन्नति गर्न स्थानीयले गरेका काममा प्रदेश सरकारले हातेमालो गर्छ ।’