• २८ फागुन २०८१, बुधबार

फोहोर व्यवस्थापनमा किचलो

blog

पोखरा बजार क्षेत्रमा थुप्रिएको फोहोर ।

कास्की समाचारदाता

कास्की, फागुन ४ गते । सडकमा थुप्रिएका फोहोरले पोखरालाई बेला बेला कुरूप बनाउने गरेको छ । पछिल्लो पटक एक हप्ता जस्तो सडकका छेउमा थुप्रिएको फोहोरले सहरलाई दुर्गन्धित मात्र बनाएको छैन, यहाँको सौन्दर्यसमेत बिगारेको छ । दुई वर्षदेखि पोखरा–३२, लामेआहलमा व्यवस्थापन गरिँदै आएको फोहोर पोखरा महानगरको सम्झौता सकिएको भन्दै स्थानीयले रोकेका थिए । 

एक सातापछि पोखरा महानगरपालिका र वडा कार्यालय ३२ र लामेआहालका स्थानीयले सहमति गरी १५ दिनका लागि फोहोर विसर्जन गर्न दिइने मौखिक सम्झौता भएको छ । पोखरा महानगरले पोखरालाई भ्रमण वर्ष घोषणा गर्ने तयारी भइरहँदा उचित फोहोर व्यवस्थापन नहुँदा त्यसको असर पर्ने देखिन्छ । फोहोर व्यवस्थापनका लागि पोखरा महानगर र लामेआहलका स्थानीयबिचको किचलो यो पहिलो भने होइन । महानगरले न अर्को विकल्प खोज्न सकेको छ, न स्थानीयको अवरोध समाधान गर्न नै सकेको छ । स्थायी रूपमा बनाउने भनिएको ल्यान्डफिल पनि बिचौलिया र स्वार्थ समूहका कारण टुङ्गोमा पुग्न सकेको छैन । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै पोखरा–१४, बाच्छेबडुवाको ल्यान्डफिल साइट ०७९ पुस ८ गतेको कार्यपालिका बैठकपछि पोखरा ३२ लामेआहलमा अस्थायी रूपमा सार्ने निर्णय भएको थियो । सोही निर्णय अनुसार महानगरको फोहोर लामेआहलको ल्यान्डफिल साइटमा विसर्जन गरिँदै आएको छ । 

पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले १५ दिनभित्र महानगरले पूर्वसहमति कार्यान्वयन नगरे फेरि फोहोर रोक्ने बताउनुभएको छ । उहाँका अनुसार सहमति अनुसार कार्यान्वयन भए अबको एक वर्षसम्म समय थप हुन सक्ने छ । सुरुमा छ महिनाका लागि स्थानीयसँग १६ बुँदे सम्झौता गरिएकोमा म्याद सकिएपछि दोस्रो पल्ट १४ बुँदे सहमति भएको थियो । उक्त म्यादसमेत माघ २३ देखि सकिएको छ । ल्यान्डफिल साइटको फोहोर राम्रोसँग नपुर्दा दुर्गन्ध फैलिएको, बिरामी परेको, बाटो स्तरोन्नति नगरिएको गुनासो स्थानीयको छ ।

फोहोर फालेबापत पोखरा ३२ नं. वडा कार्यालयलाई बर्सेनि पाँच करोड रुपियाँ थप बजेट दिने पूर्वसहमति भए पनि दुई वर्ष बितिसक्दा साढे आठ करोड मात्रै प्राप्त भएको बताइएको छ । पोखरा महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले १५ दिनका लागि मात्र नभई स्थायीयको माग पूरा गर्ने गरी लामै समय त्यहीँ व्यवस्थापन हुने बताउनुभएको छ । 

पोखरामा दैनिक १५० टन जति फोहोर सङ्कलन हुने गरेको छ । त्यसका लागि आठ कम्पनीलाई फोहोर सङ्कलन जिम्मा दिइएको छ । दैनिक तालिका बनाएर फोहोर सङ्कलन गरिरहेका ती कम्पनीलाई तीन वर्षको दुई करोड ४८ लाख रुपियाँ लिने गरी ठेक्का दिइएको थियो । पोखराको फोहोर समस्या स्थायी रूपमा समाधान गर्न महानगरले वडा–३३, भरतपोखरीमा प्रशोधन केन्द्र निर्माणको तयारी गरेको छ । त्यसका लागि १७ जना जग्गाधनीसँग ९३ रोपनी जग्गा अधिग्रहण गरेर राखिएको छ तर निर्माण प्रारम्भ हुन भने अझै सकेको छैन ।