• ४ फागुन २०८१, आइतबार

राष्ट्रपति रनिङ शिल्ड अर्को वर्ष सिदिङ्वामा हुने

blog

सदरमुकाम फुङ्लिङस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालय। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन ३ गते। ताप्लेजुङस्थित जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १६ औँ संस्करण आगामी वर्ष सिदिङ्वा गाउँपालिकामा हुने भएको छ। विगत तीन वर्ष अघिदेखि सदरमुकाम बाहिर आयोजना गर्न सुरु गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्को वर्ष अर्थात् २०८२ मा सिदिङ्वामा हुने भएको हो।

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको आयोजनामा प्रत्येक वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने गर्दछ। यसवर्ष १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मैवाखोला गाउँपालिकामा गएको बुधबार सम्पन्न भएको  छ। यसवर्षको प्रतियोगिता सम्पन्न भएसँगै आगामी वर्ष सिदिङ्वा गाउँपालिकामा प्रतियोगिता सञ्चालन हुने टुङ्गो लागेको हो।

सिदिङ्वा गाउँपालिकामा प्रतियोगिताको १६ औँ संस्करण आयोजना गर्न टुङ्गो लागेसँगै सो पालिकालाई प्रतियोगिता सञ्चालनको झण्डा हस्तान्तरण गरिएको छ। झण्डा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश) ले सिदिङ्वा गाउँपालका शिक्षा, यवा तथा खेलकुद शाखालाई हस्तान्तरण गर्नुभएको छ। सिदिङ्वा गाउँपालिकासँग समन्वय गरेर जिल्लास्तरीय प्रतियोगिता सञ्चालनका लागि झण्डा हस्तान्तरण गरिएको समिति अध्यक्ष लिम्बूले बताउनुभयो।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सदरमुकामबाट विकेन्द्रित गरिन थालेपछि पहिलो पटक १३ औं संस्करण सिरिजङ्घा गाउँपालिकामा सञ्चालन गरिएको थियो। त्यसपछि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १४ औं संस्करण गतवर्ष आठराई त्रिवेणी गाउँपालिकामा सञ्चालन गरिएको जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिनुभयो।

सदरमुकाम बाहिर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय स्तरसम्म विभिन्न खेल विधाबारे जानकारी हुन थालेको र यसले सिङ्गो जिल्लाको खेलकुद विकासमा टेवा पुर्‍याएको बताइएको छ। ताप्लेजुङमा सदरमुकाम अवस्थित एकमात्र फुङ्लिङ नगरपालिकासहित नौ वटा स्थानीय तह रहेका छन्। अन्य स्थानीय तहहहरूमा पनि क्रमशः प्रतियोगिता सञ्चालन गर्दै जाने योजना रहेको समितिले जनाएको छ।