• १२ चैत २०८१, मङ्गलबार

नेपाल हाम्रो घर (कविता)

blog

न्यानो स्पर्श दियो यहाँ शिशिरले प्यारो छ माया कति

चित्ताकर्षक दृश्य देख्छु अहिले उत्कृष्ट छाया अति 

हेर्दा सुन्दर टारमा चहुरमा भेटिन्छ डाँफे चरी

झर्ना चञ्चल गर्दछन् विपिनका सङ्गीत भर्दै झरी !!


हेर्दा शुभ्र हिमालका घनघटा चम्किन्छ आँखा भरि

लाली यौवनले धपक्क धरणी लोभ्याउ ने बेस्सरी 

दिन्छन् फूल जरीबुटी किसिमका पीयूष दिन्छन् धरा

रम्दै दूर दराजका जनहरू पुग्दै कुना कन्दरा !!


काँडे भ्याकुरका बथान रहने स्वर्र्गीय नेपाल हो

आस्था मन्दिरको पवित्र घर यो सद्भावना विश्वको

पाखा पर्वतले युवा विविधता खोज्दैछ तड्पीकन

यो सौन्दर्य पिएर उज्वल बनूँ भन्छन् विदेशी जन !!


छन् संस्कार अनेक पर्व गरिमा आलोकमा सुन्दर 

मेचीदेखि डुलेर पश्चिम पुगूँ पाइन्न है अन्तर

जेहेन्दार युवा सहिष्णुपनका भर्छन् कला कौसल

क्वैलीका धुनले सुसज्जित हुने बाक्ला घना जङ्गल !!


बस्छन् गाउँ छिमेकमा मनुज यी सानन्द मानी कन

धेरै धार्मिक छन् घनिष्ठापन छन् लाग्छन् यिनी सज्जन 

उर्जाशील सधैँ भएर सँगमा बन्छन् अरूको भर

वासन्ती रङको छ दिव्य नगरी नेपाल  हाम्रो घर !!