पनौतीका फल्चा अर्थात् पाटीमा लहरै बसेर कुराकानी गर्ने, धूप बाट्ने, बत्ती कात्ने, आराम गर्ने गरेको दृश्यले पनौतीको खास पहिचान दिन्छ । धार्मिक भावनाले प्रेरित भएर पाटी निर्माण गर्ने परम्परा पुरानो हो । पाटी बहुउपयोगी प्राचीन परम्परागत संरचना हो । घामपानीबाट ओत लाग्न, बटुवाका लागि बास बस्न यस्ता पाटीको निर्माण गर्ने चलन रहेको पाइन्छ । समुदायमा हुने विविध धार्मिक कार्य गर्न पनि पाटी बनाइन्थ्यो । साँझ बिहान भजनकीर्तन गर्न समेत पाटीको उपयोग हुँदै आएको देखिन्छ । खेताला, गोठालाका लागि आश्रय स्थानको प्रयोजनार्थ खेतबारीमा समेत पाटीको निर्माण गरिएको पाइन्छ ।
संरचनागत दृष्टिले हेर्दा पाटी निर्माणमा इँटा, काठ, ढुङ्गा, झिँगटी र माटोको प्रयोग गर्ने गरिएको पाइन्छ । इँटा र ढुङ्गाको प्रयोग गरेर पाटीको आधार उठाइन्छ । यसरी उठाइएको आधारमा ठुला ठुला काठका खम्बा ठड्याइन्छ । ठड्याइएको खम्बालाई आधार बनाएर नील र दलिनको प्रयोग गरेर झिँगटीले छाएपछि पाटीको स्वरूप देखिन्छ । पाटीहरू प्रायः तीनमुखे हुन्छन् । तीनमुखे हुनुको अर्थ तीनतर्फ खुला रहनु हो । यस्ता पाटी प्रायः सबैतिर हुन्छन् । त्यस्तै कुनै पाटी दुईतिर फर्काएर बनाइएका छमुखे पाटी हुन्छन् । सामान्यतया यस्ता पाटी भेटिँदैनन् । कुनै कुनै पाटीको निर्माण थुप्रै थाम प्रयोग गरेर चारैतिर खुला राखेर बनाइएका हुन्छन् ।
यस्ता पाटीको निर्माण त्यस बेलाका राजा, मन्त्री, भारदार, जिम्मावाल, ग्रामप्रधान, प्रशासक, स्थानीय समाजसेवी । धनाढ्य आदिले गर्दथे । यस्ता पाटी सार्वजनिक स्थान, मन्दिर वरपर, व्यापारिक स्थल वरपर, तीर्थस्थल समीप निर्माण गर्ने परम्परा थियो ।
पनौतीमा कलात्मक र सामान्य पाटी थुप्रै छन् । पनौतीका पाटीको उपयोग धार्मिक, सामाजिक र सांस्कृतिक रूपमा हुँदै आएको देखिन्छ । मन्दिरै मन्दिरको नगर उपनाम पाएको पुरानो पनौतीमा (स्मारक क्षेत्रमा) मन्दिरपछि सङ्ख्यात्मक रूपले हेर्दा पाटीको सङ्ख्या पनि उल्लेख्य छ । हाल स्मारक क्षेत्रका रूपमा रहेको प्राचीन पनौतीमा करिब दुई दर्जन पाटी अस्तित्वमा छन् । पहिले पहिले टाढाबाट आएका बटुवालाई बास बस्ने, आराम गर्ने प्रयोजनका लागि बनाइएका त्यस्ता पाटीको महत्व विशेष रहेको हुन्छ । पनौती कुनै बेला व्यापारिक केन्द्र पनि थियो । सामान किन्न र बेच्न आएका मानिस बास बस्ने स्थान त्यसबेला पाटी नै हुने गरेको स्मरण धमिलो सम्झनुहुन्छ स्थानीय विश्वराम ताम्राकार । उहाँका अनुसार उहिले सुकेको माछा, घिउ, घुम, चिउरी, केरा बेच्न आउनेहरू पाटीमै बस्दथे ।
यस्ता पाटी धार्मिक दृष्टिले पनि महत्वपूर्ण छन् । विशेषतः आषाढ शुक्ल द्वादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म साँझपख पनौतीका पाटीमा भजन गाउने प्रचलन रहेको छ । यस प्रकारको विशेष भजन गाउने कार्यलाई स्थानीय भाषामा ‘धल्चा हालेगु’ भनिन्छ ।
मन्दिरमा पूजाका लागि आउने भक्तजन विश्राम गर्न, भजनकीर्तन गर्न, पूजा सकिएपछि प्रसादका रूपमा समय् बजी खान पाटीको प्रयोग हुने गरेको छ । कतिपय पाटी जात्रापर्वसँग सम्बन्धित हुने गर्छन् । यस्ता पाटीमा जात्रासँग सम्बन्धित सामग्री राख्ने गरिन्छ । पनौतीका ताहाफः, बाहाफः, सरस्वती पाटी, ब्रह्मायणी पाटी, द्यलाँफः आदिलाई उदाहरणका रूपमा लिन सकिन्छ ।
पुरानो पनौती पाटीको सन्दर्भमा पनि धनी देखिन्छ । यहाँका धेरै जसो पाटी मध्यकालीन देखिन्छ । मानेश्वरी मन्दिरको प्राङ्गणमा मानेश्वरी पाटी रहेको छ । अघा टोलमा दुई वटा सरस्वती पाटी रहेका छन् । सरस्वती मन्दिर समीपमा रहेका यी दुई पाटीमा भक्तपुरबाट नवदुर्गा ल्याउँदा देवगण बस्ने, सामान राख्ने गरिन्छ । पनौती प्रवेशद्वारसँगै गुप्तेश्वर पाटी रहेको छ । त्यसभन्दा केही पर पूर्वतिर कृष्ण पाटी रहेको छ । प्राचीन पनौतीको यालाक्षे टोलमा रहेको ताहा फः अर्थात् लामपाटी पनौतीको कलात्मक पाटी हो । यो दुईतले रहेको छ । यो पाटी काष्ठकलाले सजिएको छ । यस पाटीको पहिलो तलामा भद्रकाली रथको सामग्री राखिँदै आएको छ । दक्षिणाभिमुख यो पाटीको उत्तरी गारोमा शिवपार्वतीको शिलामूर्ति स्थापित छ । सँगै एउटा शिलालेख पनि स्थापित छ । उक्त शिलापत्रमा संवत् ७९४ वैशाख कृष्ण एकादशीका दिन मोतीराज नाम गरेका व्यक्तिले भवानीशङ्करको स्थापना गरेको उल्लेख छ ।
लायकु डबलीअगाडि बाहाफः रहेको छ । यस पाटीलाई कसैले लायकु पाटी भन्ने गर्छन् । कसैले पुलिस पाटी भन्ने गर्छन् । दसैँमा दाफा भजन गाउन यो पाटीको प्रयोग हुँदै आएको देखिन्छ । यसका अलावा पनौतीमा नौ दिनसम्म चल्ने पनौतीको जात्रामा ब्रह्मायणी देवीलाई यही पाटीमा राख्ने चलन रहेको छ । राजकुमार महासत्व त्याग र समर्पणका प्रतीक हुन् । उनै महासत्वको अनुपम त्यागका कारण पछि नमोबुद्ध बनेर प्रसिद्ध भए । तिनै नमोबुद्धको जात्रा भदौ महिनामा हुने गर्दछ । त्यस समय पनि भगवान् नमोबुद्धको मूर्तिलाई यही पाटीमा राख्ने परम्परा छ ।
आनन्द पाटी यालाक्षे टोलमा गणेश मन्दिरसँगै रहेको छ । त्यसभन्दा केही पर पूर्वमा अजम्बर पाटी रहेको छ । पनौतीको स्मारक क्षेत्रभित्र रहेका अन्य पाटीमा माहेश्वरी पाटी, ब्रह्मायणी मन्दिरअगाडिको ब्रह्मायणी पाटी, देव पाटी, देगा पाटी, कमलविनायक पाटी, कार्यविनायक पाटी, सूर्यविनायक पाटी, नृत्य विनायक पाटी, दुईमुखे द्वाका पाटी, काठंगणेश मन्दिरसँगै रहेको काठंगणेश पाटी, हरिसिद्धि पाटी, सोह्रखुट्टे पाटी रहेका छन् । यो सोह्रखुट्टे पाटी पनि निकै कलात्मक रहेको छ । सोह्र वटा काठका सुन्दर खम्बा उठाई निर्माण गरिएको यो पाटी आकर्षक छ । सोह्र वटा खम्बामा उभिएको यो पाटीको मध्यभागमा शिवलिङ्ग स्थापित छ । झिँगटीले छाएको यो पाटीमा गजुर पनि राखिएको छ । गजुर धातुको रहेको छ । मन्दिर र पाटीको मिश्रित स्वरूपमा बनेको यो पाटी काष्ठकलाको उत्कृष्ट नमुना लाग्छ । चारैतिर खुला रहेको यो आकर्षक पाटी १७ औँ शताब्दीतिर बनेको अनुमान गरिएको छ । त्यस्तै इन्द्रेश्वर मन्दिर प्राङ्गणको पूर्वतर्फ रहेको एक जोडा पाटी नेपाल सरकार पुरातत्व विभागले केही वर्षअगाडि पुनर्निर्माण गरेको देखिन्छ ।
पनौती नगर (स्मारक क्षेत्र) को दक्षिणतर्फ ठुलो फाँट छ । खेतमा काम गर्दा विश्राम लिन, पानी पर्दा ओत लाग्न, खाजा खान र बटुवालाई विश्रामस्थलको प्रयोजनका लागि ठाउँ ठाउँमा पाटी बनाइएका छन् । कुशादेवीको कालेसाहुको पाटी, खोपासीको कोइराला पाटी, भीमसेन पाटी पुरातात्त्विक महत्वका पाटी हुन् । रयाले, सुन्थान, पस्थलीलगायतका स्थानमा समेत विविध प्रयोजनका लागि पाटी बनाइएका छन् । ती पाटी ऐतिहासिक महत्वका छन् । कालेसाहुको पाटी शाहकालमा निर्माण भएको देखिन्छ । दुईतले यो पाटीको छाना झिँगटीको छ । पाटीको भित्तामा एउटा शिलापत्र पनि राखिएको छ । शाहवंशीय राजा त्रिभूवन र श्री ३ चन्द्रशमशेरको पालाको उक्त शिलालेखमा शाके संवत् १८३६ र संवत् १९७१ लेखिएको छ ।
पनौतीका केही ऐतिहासिक पाटी विविध कारणले नासिएका छन् । पनौतीकै ऐतिहासिक जात्रासँग सम्बन्धित द्यलाँफः हाल अस्तित्वमा छैन । यो पाटीलाई कसैले महादेव पाटी पनि भन्ने गर्छन् तर सोही स्थानमा पहिलेको पाटीको तुलनामा केही सानो अर्को पाटी निर्माण हुन लागेको देखिन्छ । पनौती नगरपालिक–५ को बिचारी पाटी धार्मिक मान्यताका दृष्टिले निकै महत्वपूर्ण छ । स्वस्थानीका शिव शर्मा ब्राह्मणको किंवदन्तीसँग जोडिएको सो पाटी हाल अस्तित्वको लडाइँ लड्दै गरेको देखिन्छ । वडा नं. ५ मै मध्यकालीन नाग पाटी पनि नासिएको छ । पनौती–बनेपा सडक निर्माणको चपेटामा परेको यो पाटी हाल अस्तित्वमा छैन । सडक फराकिलो बनाउने क्रममा पुरातात्त्विक पाटी भत्काइएको थियो । यो पाटीको पूर्वतर्फ पुरातात्त्विक महत्वको ढुङ्गेधारा पनि रहेको थियो । दक्षिणाभिमुख यो ढुङ्गेधारा पनि पूर्वावस्थामा रहेको छैन । पुरानो संरचना भत्काएर नयाँ संरचनाका साथ पूर्वतर्फ फर्काएर यो धाराको पुनर्निर्माण भएको देखिन्छ । पुरातात्त्विक सम्पदाको अस्तित्वमा तोडमोड गर्नु राम्रो मानिन्न । पनौती–खोपासी सडक विस्तारका क्रममा सोह्रखुट्टे पाटीले आफ्नो अस्तित्व गुमाएको छ ।