बुटवल समाचारदाता
बुटवल, फागुन ३ गते । रुपन्देहीको ग्रामीण क्षेत्रमा आयोजना गरिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका बिरामीमा मधुमेह र उच्च रक्तचापको समस्या बढी देखिएको छ ।
सहरियाको रोग भनिने मधुमेह र उच्च रक्तचाप ग्रामीण क्षेत्रका बासिन्दाको पनि मुख्य समस्या बन्दै गएको शिविरमा गरिएको स्वास्थ्य परीक्षणले देखाएको हो । रुपन्देहीको गैँडहवा गाउँपालिकामा हालै आयोजित स्वास्थ्य शिविरमा उपचारका लागि आएका बिरामीमा मधुमेहको जोखिम बढी देखिएको चिकित्सकले बताएका छन् ।
गैडहवामा आयोजित खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि आएका बिरामीमा मधुमेहसँगै उच्च रक्तचापको समस्या पनि देखिएको हो । निःशुल्क स्वास्थ्य शिविरमा २४१ बिरामीले निःशुल्क स्वास्थ्य जाँच गराएका छन् । गैडहवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र चौहानले स्वास्थ्य शिविरमा आएका ५० वर्ष कटेका अधिकांश स्थानीयमा मधुमेह र उच्च रक्तचापको समस्या देखिएको बताउनुभयो ।
गैडहवा गाउँपालिका, रोटरी ई क्लब अफ, मेडिकोफ्युजन हाइब्रिड नेपाल र नियमित रक्तदाता सङ्घको संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा हाडजोर्नी, जनरल फिजिसियन; नाक, कान तथा घाँटीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्य शिविरमा बिरामीको स्वास्थ्य जाँच गर्दै डा. सुमन पौडेलले मानिसको सबैभन्दा महत्वपूर्ण विषय भनेको नै स्वास्थ्य भएकाले बिरामी पर्दा मात्र नभई आफू स्वस्थ छु कि छैन भन्ने कुरा जान्न पनि समय समयमा स्वास्थ्य जाँच गराउन आग्रह गर्नुभयो । उहाँले ग्रामीण क्षेत्रका जनतामा पनि पछिल्लो समय मधुमेह र उच्च रक्तचापको समस्या धेरै देखिएको बताउँदै विषादी, खानपानमा अनियमितता, तनावलगायतका कारण यो रोग बढेको बताउनुभयो ।