केदार तिमल्सिना 
बनेपा, जेठ १५ गते । काठमाडौँ विश्वविद्यालय (केयू) र नेपाल विद्युत् प्राधिकरणबीच नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धन गर्ने विषयमा सहमति भएको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच शुक्रबार एक कार्यक्रमबीच धुलिखेलमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपालमा हरित हाइड्रोजन प्रविधिको उत्थान गर्न प्राधिकरण र सरकारको चासोसँग सम्बन्धित ज्ञान, विशेषज्ञता र जनशक्तिको विकास गरी नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धन गर्नका लागि दुई संस्थाबीच सम्झौता भएको केयूका सहप्राध्याक तथा ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापाले जानकारी दिनुभयो ।
सम्झौताअनुसार विद्युत् प्राधिकरणले हाइड्रोजनसम्बन्धी सञ्चालन गर्ने आयोजनाका लागि विश्वविद्यालयले विज्ञ सहयोग तथा परामर्श प्रदान गर्ने, प्राधिकरणले अघि बढाउन लागेको पाँच मेगावाटको ग्रिन अमोनिया परियोजनाको विस्तृत परियोजना रिपोर्ट विश्वविद्यालयले तयार गर्ने उल्लेख छ । यसैगरी विश्वविद्यालयले नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रयोगमा तीनवटा स्नातकोत्तर तह र विद्यावारिधि तहका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।
केयू र प्राधिकरणबीच भएको सम्झौता आगामी पाँच वर्षसम्म लागू हुने विश्वविद्यालयले जनाएको छ । प्राधिकरणले हरित हाइड्रोजनसम्बन्धी विशेषज्ञता, परियोजना डिजाइन र शैक्षिक कार्यक्रम सञ्चालनका लागि पाँच करोड रुपियाँ प्रदान गर्नेछ । सम्झौतामा दुवै पक्षले हरित हाइड्रोजन प्रविधिको नमुना कार्यक्रम अनुसन्धान गर्न, ग्रिडको गुणस्तर सुधार गर्न हाइड्रोजन प्रविधिको प्रयोग र हिउँदको समयमा ऊर्जा भण्डारणका साथै नेपालमा जलविद्युत्को उचित सदुपयोग गर्न क्षमता विकास गर्ने विषय उल्लेख गरिएको छ ।
कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले आर्थिक वर्ष २०८०/८१ मा नेपालले कम विद्युत् आयात गर्ने र बढी विद्युत् निर्यात गर्ने अवस्थामा पुग्ने बताउनुभयो । घिसिङले नेपालले सस्तो मूल्यको मात्रै विद्युत् खरिद गरेको बताउँदै आगामी दिनमा सबै इन्धनको स्रोत पानी (जलविद्युत्) बन्ने दाबी गर्नुभयो । केयूका उपकुलपति थापाले नेपालमा भविष्यमा खेर जाने जलविद्युत्लाई उपयोग गर्ने विषयमा विद्युत् प्राधिकरणसँग सहकार्यका कार्यक्रम अघि बढाइएको बताउनुभयो ।
विश्वविद्यालयले ग्रिन हाइड्रोजन ल्याबको स्थापना गरी नेपालमा हरित हाइड्रोजन उत्पादनसम्बन्धी अनुसन्धान गर्दै आएको छ । विश्वविद्यालयका सहप्राध्यापक तथा हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापाले जलविद्युत्को प्रयोग गरी हरित हाइड्रोजन उत्पादन गरी त्यसलाई यातायात, औद्योगिक ताप, रासायनिक उद्योग र ऊर्जा उद्योगमा उपयोग गर्न सकिने बताउनुभयो । उहाँले नेपालमा हाइड्रोजन प्रयोग गरी अमोनिया र युरियाजस्ता वस्तु उत्पादन गर्न सकिने बताउनुभयो ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                