• १२ चैत २०८१, मङ्गलबार

अर्जुनचौपारीमा फागुन ६ गते सार्वजनिक बिदा

blog

अर्जुन काफ्ले 

स्याङ्जा, फागुन २ गते। अर्जुनचौपारी गाउँपालिकाले यही फागुन ६ गते मङ्गलबार सार्वजनिक बिदा दिने भएको छ। पालिकाले नेपालकै पहिलो नवग्रह मन्दिरको वैदिक विधिअनुसार हुने नवग्रह धार्मिक अनुष्ठान, गीता ज्ञान तथा धार्मिक महोत्सवको अवसरमा बिदा दिने भएको हो।

पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिनुभयो। 

गाउँ कार्यपालिकाको माघ १८ गतेको निर्णण अनुसार सार्वजनिक बिदा दिन लागेको पाण्डेले बताउनुभयो। यहाँको वडा नं-१ जलवराह धार्मिक वनमा अवस्थित पञ्चकन्या देवी मन्दिरको नजिकै नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिरको निर्माण गरिएको छ। फागुन ६ देखि १४ गतेसम्म एक करोड २५ लाख दीप प्रज्वलनसहित अनुष्ठान गर्ने कार्यक्रम रहेको छ। 

आचार्य श्री चैतन्य कृष्ण महाराज गुरु प्रमुख वाचक रहने प्राण प्रतिष्ठा तथा अनुष्ठानमा राधिका दाशी, केएन स्वामी, लोकानन्द स्वामी  लगायतले धार्मिक प्रवचन दिनुहुने छ।  यस्तै देवी घर्ती, राजु ढकाल, खुमन अधिकारी लगायतका राष्ट्रिय कलाकारले मनोरञ्जन दिने पालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो। 

विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने हुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्ने गरी पालिकाले नवग्रह मन्दिरको निर्माण गरिएको हो।