• ७ फागुन २०८१, बुधबार

विद्यालयमा न्यायिक संवाद

blog

न्यायिक संवादमा सहजिकरण गर्नुहुँदै जिल्ला न्यायाधीश रामप्रसाद बस्याल। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, फागुन २ गते। रुकुम जिल्ला अदालतले विद्यालयस्तरमा न्यायिक संवाद कार्यक्रम सञ्चालन गरेको छ। यसअघि समुदायस्तरमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरेको अदालतले मुसीकोट नगरपालिका–१ खलङगामा रहेको विजयश्वरी सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलमा न्यायिक संवाद गरेको हो।  

विद्यालयस्तरमा कानुन तथा न्याय सम्बन्धी विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यका साथ अदालतले उक्त कार्यक्रम गरेको जनाएको छ। अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार ग्रामीण क्षेत्रको समुदायस्तर र कानुन संकायका विद्यार्थी बिच यो कार्यक्रम हुने गरेको छ। विद्यालयस्तरमा गरिएको संवाद कार्यक्रममा विभिन्न क्षेत्रमा हुने कानुनी अपराध र अधिकारको बारेमा जानकारी गराउनुका साथै फौजदारी र देवानी कानुन, साइबर अपराध, बाल विवाह लगायतका विषयका बारेमा जानकारी गराइएको छ।

संवाद कार्यक्रममा जिल्ला न्यायधीश रामप्रसाद बस्याल, जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिंजाली, जिल्ला बार एसोसियसन अध्यक्ष रत्नबहादुर खड्का, रुकुम जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइराला, तहसिलदार लालबहादुर खत्री, नायब सुब्बा लक्ष्मण शाहले विषयवस्तुको बारेमा विद्यार्थीमाझ छलफल गर्नुभएको थियो।  

विद्यालयका प्रिन्सिपल जयबहादुर थापाका अनुसार संवाद कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहभागी थिए।

सर्वसाधारणमा कानुनी ज्ञानको अभावका कारण विभिन्न समस्या आउने गरेकोले अदालतले यस खालका कार्यक्रम सञ्चालन गर्नुपरेको जनाएको छ। स्थानीय तहले विद्यालय तथा ग्रामीण क्षेत्रमा कानुनी शिक्षाका कार्यक्रम तय गर्नु आवश्यक रहेको बताइएको छ।