• ३ फागुन २०८१, शनिबार

कार्यसम्पादनमा सिद्धिचरण पहिलो

blog

शेरबहादुर राई

ओखलढुङ्गा, फागुन २ गते । स्थानीय सरकारहरुको कार्य सम्पादन मूल्याङ्कन नतिजा अनुसार ओखलढुङ्गामा सिद्धिचरण नगरपालिका पहिलो भएको छ । जिल्लाको आठ स्थानीय तहमध्ये नगरपालिका पहिलो भएको हो । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरेको कार्यसम्पादन सूचकको मूल्याङ्कन गरी अङ्क प्रदान गरेको नतिजा हालै सार्वजनिक गरेको छ । 

नतिजा अनुसार सिद्धिचरण नगरपालिकाले ७५.१ अङ्क प्राप्त गरेको छ । वित्त आयोगले स्थानीय तहको कार्यसम्पादनका विभिन्न १७ सूचकलाई मूल्याङ्कन गर्दा जिल्लाको चम्पादेवी गाउँपालिकाले भने सबैभन्दा कम ४८.७ अङ्क प्राप्त गरेको छ । 

चिशंखुगढी गाउँपालिकाले ६७.३, खिजीदेम्बा गाउँपालिकाले ५९.८, मानेभन्ज्याङ गाउँपालिकाले ५५.६, लिखु गाउँपालिकाले ५४.३, सुनकोशी गाउँपालिकाले ५३.३ र मोलुङ गाउँपालिकाले ५१.१ अङ्क प्राप्त गरेका छन् । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन अङ्क प्रदान गर्ने गर्दछ । 

जसअनुसार वित्त आयोगले आर्थिक वर्ष २०८२-०८३ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन गरेको छ । 

कार्यसम्पादनका क्रममा गाउँ तथा नगरपालिकाले २०८१ असार १० गतेभित्र आर्थिक वर्ष २०८१-०८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ तथा नगरसभामा पेस गरेको देखि आयोगले तयार गरेको विद्युतीय अनलाइन पोर्टलमा कार्यसम्पादन सूचकसम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्टि गरेका १७ सूचकलाई आधार मानेर अङ्क प्रदान गरिएको छ ।