• ५ असार २०८२, बिहिबार

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर

blog

गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविर निःशुल्क सेवा लिँदै महिलाहरु । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, असार ५ गते ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याका भएका महिलाहरुका लागि निःशुल्क स्क्रिनिङ शिविर सम्पन्न गरेको छ । गाउँपालिकाले महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि तीन दिनसम्म शान्तिपुर र तुराङ्ग स्वास्थ्य चौकीमार्फत शिविर सञ्चालन गरिएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको शिविरमा ३२० जना समुदायका महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गराउनुभएको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार जाँच गराएकामध्ये १५ जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ देखिएको छ ।

शिविरमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न ‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) परीक्षण गरिएको हो । भिआइए पोजेटिभ देखिएका १५ जना महिलाहरुको निरन्तर निगरानीसहित आवश्यक थप उपचारका लागि प्रेषण गरिएको स्वास्थ्य शाखा प्रमुख प्रकाश चन्द्र शर्माले बताउनुभयो । शिविरमा पाठेघर खस्ने समस्या भएका महिलाहरूका लागि रिङ पेसरी राख्न र आवश्यक परामर्श प्रदान गरिएको छ ।

जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत तालिम प्राप्त सिअनमी सरीता पुरीले टोलिले महिलाहरुको स्वास्थ्य चेकजाँच गरेको थियो । महिलामा पाठेघरको मुखको क्यान्सरको पहिचान गरी तत्काल उपचारमा सहजता होस् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले बताउनुभयो ।

ग्रामीण भेगका महिलामा पाठेघरको क्यान्सर, पाठेघर खस्ने समस्या बढी देखिने भएकाले समयमा नै समस्या पहिचान तथा न्यूनीकरण गर्न शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीले बताउनुभयो । यस प्रजनन रूग्णता सम्बन्धि स्क्रिनिङ शिविरमा सहभागी सबै स्वास्थ्यकर्मी, कर्मचारी तथा सेवाग्राहीप्रति उहाँले विशेष धन्यवाद व्यक्त गर्नुभयो ।