सिँजा समाचारदाता
सिँजा (जुम्ला), असार ५ गते । शिक्षा क्षेत्रमा राजनीति नगर्न सरोकारवालाले राजनीतिक दललाई ध्यानाकर्षण गराउनुभएको छ । जुम्लामा मङ्गलबार सञ्चालित सार्वजनिक शिक्षा सुधारका लागि बृहत् शैक्षिक बहस कार्यव्रmममा सहभागीले सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप भएकाले र त्यसको अन्त्य गर्नुपर्ने राजनीतिक दलका नेतालाई सुझाव दिनुभएको छ । राजनीतिक हस्तक्षेपले सामुदायिक विद्यालयको गुणस्तर सुधार हुन नसकेको विषयमा छलफल भएको छ । कर्णाली माध्यमिक विद्यालय अनामनगरका शिक्षक देवेन्द्र तिमिल्सिनाले सामुदायिक विद्यालयलाई राजनीतिमुक्त बनाउन दल तयार हुनुपर्ने बताउनुभयो ।
दलहरूकै कारण विद्यालयमा राजनीतिक हस्तक्षेप भएको उहाँको भनाइ छ । ‘शिक्षक सरुवा गर्नका लागि राजनीति र परीक्षा प्रणालीमा राजनीति हुने गरेको छ ।” उहाँले भन्नुभयो, “अब दलले सार्वजनिक शिक्षा सुधारका लागि प्रतिबद्ध हुनु पर्छ ।” जुम्ला बहुमुखी क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले शिक्षा क्षेत्र सुधारका लागि परीक्षा प्रणाली नै सुधार गर्नुपर्ने उल्लेख गर्नुभयो । सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले परीक्षा प्रणाली सुधारमा जोड दिनुपर्ने औँल्याउनुभयो । स्थानीय तहले पहल चालेमा दलले पूर्ण रूपमा साथ दिने कांग्रेस जुम्लाका कार्यवाहक सभापति कर्मा बुढाले बताउनुभयो । पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले गैरसरकारी क्षेत्रमाबाट सार्वजनिक शिक्षा सुधार तथा पूर्वाधार निर्माणका क्षेत्रमा भएका कामलाई स्थानीय तहले स्थायित्व दिनुपर्ने बताउनुभयो ।
मलिका मावि धाँपाका शिक्षक परेकराज खत्रीले स्थानीय तहले शिक्षा क्षेत्रमा अपेक्षित बजेट विनियोजन नगर्दा समस्या उत्पन्न भएको बताउनुभयो । अन्य पालिकाको तुलनामा सिँजाले शिक्षामा प्राथमिकता दिए पनि अपेक्षानुसार विनियोजन नभएको उल्लेख गर्नुभयो । साथै सहभागीले शिक्षक सरुवामा लेनदेन हुने गरेको गुनासो आएपछि सिँजाका अध्यक्ष पूर्णप्रसाद धितालले सिँजामा शिक्षक सरुवाका नाममा कतै लेनदेन भएको प्रमाण भेटिए अध्यक्ष पद नै त्यागिदिने घोषणा गर्नुभयो । यसै गरी सार्वजनिक शिक्षा सुधारका लागि छबुँदे घोषणापत्रसमेत जारी गरिएको छ ।