• २८ फागुन २०८१, बुधबार

उखु खेती घट्दै

blog

केशवराज भट्ट 

बैतडी, फागुन २ गते । वन्यजन्तुको क्षति बढ्दै जाँदा बैतडीमा पछिल्लो समय उखु खेती घट्दै गएको छ । बँदेल र बाँदरले क्षति गर्ने र मिहिनेत तथा लागत अनुसार फाइदा नहुँदा उखु खेती कम भएको हो ।

उखु खेती कम भएपछि जिल्लाका विभिन्न ठाउँमा सजिलै पाइने स्थानीय गुडको उत्पादन घटेको छ । मङ्सिरदेखि नै स्थानीय बजारमा पाइने ‘बैतडीको गुड’ पछिल्लो समय मुस्किलले पाइन्छ । राति बँदेल र दिउँसो बाँदरले उखुबालीमा क्षति पुर्‍याउन थालेपछि ग्रामीण भेगमा उखु खेती छाड्नु परेको स्थानीय कृषक बताउँछन् । गुड बनाउने भाँडाकुँडा, दाउरा, कोललगायतका सामग्रीको लागत बढेका कारण पनि उखु खेती प्रभावित भएको सूर्नया गाउँपालिका ३ का कृषक देवराज भट्ट बताउनुहुन्छ ।

अचेल कृषि उपज विक्रिका लागि समस्या नभए पनि पछिल्ला वर्ष वन्यजन्तुबाट बालीनालीमा क्षति हुने क्रम बढ्दै जाँदा किसानले लाभ लिन नसकेको उहाँले बताउनुभयो । "पहिला बारीमा उब्जाएको बस्तु बेच्न न भाउ पाइन्थ्यो, न बजार नजिक थियो । टाढासम्म बोकेर लैजानुपर्दा घाटा हुन्थ्यो," उहाँले भन्नुभयो, "अचेल व्यापारी आएर मोलतोल गर्छन् । तर जनावर र रोगकीराले पहिले जस्तो उत्पादन पनि छैन, घरमा काम गर्ने जनशक्ति पनि रहेन ।"  

पहरा बसेर बँदेल र बाँदरबाट जोगाएको उखु उत्पादनबाट मिहिनेत अनुसारको मूल्य नपाएको कृषकको गुनासो छ । "रोपेको दिनदेखि पहरा नदिए जोगाउन सकिँदैन । जमिन खोस्रिएर बँदेलले बीउ नै उखेलेर खान्छ । हुर्किएको बोट बाँदरले छाड्दैन," उहाँले भन्नुभयो, "जेनतेन जोगाउन सके मिहिनेत अनुसार भाउ पाइँदैन ।" स्थानीय बजारमा गुड प्रतिकिलो दुई सय ५ रुपियाँसम्ममा कारोबार हुँदै आएको छ । कृषकले किलोको दुई सय रुपियाँमा गुड बिक्रि गर्छन् । उखु पेल्ने मेसिन एक लाख हाराहारी मूल्य पर्छ । 

गुड पकाउन प्रयोग गरिने तामाको भाँडाको भाउ अहिले ५ हजार घटी छैन । दाउराको प्रयोग बढी प्रयोग हुने भएकाले लगानी अनुसार आम्दानी नहुँदा उखु लगाउन छाडेको कृषक भट्ट बताउनुहुन्छ । "दिउँसो बाँदर र राति बँदेलको पहरा बसेर उखु जोगाउन मुस्किल हुन्छ, बचेको उखुको गुड सस्तोमै बेच्नुपर्छ," सूर्नया गाउँपालिका ४ का कृषक धौले भट्टले भन्नुभयाे, "कच्चा पदार्थ र औजार महँगो पर्छ, भारतीय गुडको प्रतिष्पर्धाले मूल्य पाएका छैनौं ।"

स्थानीय बजारमा भारतीय गुड सस्तोमा पाइन्छ । ग्रामीण भेगमा पैंचो, पर्म र विवाह ब्रतबन्ध जस्ता काममा गुड बाँडेर सहभागी गराउने चलन पनि मिश्री र मिठाईले विस्थापित गरेको छ । भारतीय गुड एक सय रुपियाँ किलोमा बिक्री हुन्छ । भारतीय गुड सस्तो हुँदा स्थानीयको मूल्य बढाउन नसकेको कृषककाे भनाइ छ ।

हिउँदमा अन्य बाली नहुने हुँदा जङ्गली जनावरबाट उखुमा क्षति बढी हुँदै आएको छ । पहरा बसेर उखु जोगाउन मुस्किल हुने कृषकहरु बताउँछन्। जिल्लाका सबैजसो गाउँमा उखु खेती हुँदै आएको छ । डिलासैनी, दोगडाकेदार, पुर्चौडी, सूर्नया र सिगास गाउँपालिका क्षेत्रमा उखु खेती र गुड उत्पादन बढी हने गरेको छ । यहाँ उखुको मुख्य उत्पादन गुड नै हो ।

चिसो ठाउँ तथा लेकतिर मङ्सिरदेखि उखु पेल्न सुरु गर्छन् भने बेंसी तथा औलमा फागुनपछिमात्रै पेल्ने चलन छ । उखु पेल्ने समयमा बसाइँ सरेर तराई तथा  सहरतिर गएकाहरु पनि तातो गुड खान भन्दै पुर्ख्याैली थलो र आफन्तकहाँ पहाडतिर उक्लने गरेका छन् ।

परम्परागत कोलमा पेलेको उखुको रस पाँच-छ घण्टा तामाको ताउलोमा पकाएर बनाइने स्थानीय गुड औषधीको रुपमा समेत लिइन्छ । "गाउँमा थोरैले मात्र खेती गर्छन्, धेरैजसो गाउँमा त उखु उत्पादन घरायसी उपयोगमा सीमित भएको छ," दशरथचन्द नगरपालिका १ का कृषक महेन्द्र भट्टले भन्नुभयाे, "मेहिनेत र लगानी बढी हुने भएकाले उखु खेती गर्न समस्या छ ।"  

स्थानीय गुडको बजार समस्या नभए पनि जनावरको क्षति र मिहिनेत गर्ने जनशक्ति अभावका कारण उत्पादननै हुन नसकेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएकाे छ । जिल्लामा दुई सय ८ हेक्टरमा उखु खेती हुँदै आएको छ । बैतडीमा प्रतिहेक्टर १५ मेट्रिक टन उखु उत्पादन हुने गरेको ज्ञान केन्द्रका सूचना अधिकारी महेश पाण्डेले बताउनुभयो ।

पछिल्लो समय केही वर्षयता युवा जनशक्ति रोजगारीका लागि गाउँ छाडेर बाहिर जानुपर्ने बाध्यता र स्थानीय सरकारले कृषिप्रति उदासीन हुँदा खेती घट्दै गइरहेको सूर्नया गाउँपालिका २ का अगुवा कृषक नरेन्द्र बिष्टले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र प्रमुख हरिदत्त जोशी वन्यजन्तुको क्षति र जनशक्ति अभावका कारण उखु खेती घटेर करेसाबारीमा सीमित भइरहेको बताउनुहुन्छ । ‘व्यावसायिक उखु खेती छाडेर करेसाबारीमा सीमित भएको छ,’ उहाँले भन्नुभयो, ‘जनावरको क्षतिसँगै फाइदा र जनशक्ति अभावले हरेक वर्ष खेती घट्न थालेको हो ।’