• ३ फागुन २०८१, शनिबार

कम्युनिस्ट एकता र सम्भावना

blog

माघ २७ मा एमाले महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नुभयो : ‘माओवादी नेता वर्षमान पुनसँग पोखरेलको संवादलाई पुनले अनर्थ हुने गरी सार्वजनिक गर्नुभयो । यसले अनौपचारिक संवाद गर्न पनि जोखिम हुने देखायो । वर्षमान पुनसँग मात्र हैन परी आए प्रचण्डसँग पनि वार्ता हुने गरेको छ ।’ पोखरेल यतिमा रोकिएनन् । पुनसँगको संवाद वामपन्थी दलहरूका बिच एकताका लागि गर्नुपर्ने संवादको एउटा रूप पनि त हुन सक्छ ? पहिले टाउका ठोकेर एकता गरेको टिकेन । अब कमसेकम पार्टीका समर्थक, कार्यकर्ताको पङ्क्तिमा लामो संवाद गर्दै र मित्रता गर्दै जान सके यस्तो एकता सम्भव पनि हुन सक्छ भन्ने बुझ्दा किन नहुने ? उहाँले राष्ट्रिय शक्तिको खाँचोबारे आफूले लामो समयदेखि गर्दै आएको अपिलकै सेरोफेरोमा वामपन्थीका बिच सहकार्य र एकताको सम्भावना रहेको प्रस्ट सङ्केत गर्नुभएको छ । यो स्टाटस आउनु अगाडि एउटा समाचार बिजुलीपत्रमा देखा परेको थियो । माओवादी केन्द्रका नेता वर्षमान पुनले दुई तिहाइको दम्भ देखाउने एमाले नेता शङ्कर पोखरेल अब विधेयक पारित गराउन गुहार माग्दै छन् भनेको भनेर ती समाचारमा व्यक्त गरिएको थियो ।

त्यसको भोलिपल्टै, २८ माघमा जनकपुर पुगेका माओवादी अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वमा रहुञ्जेल एमालेसँग एकता हुँदैन भन्ने अभिव्यक्ति दिनुभयो । यसको अन्तर्यमा पनि एमाले माओवादीसमेतको वामपन्थी दल (कम्युनिस्ट पार्टीका सन्दर्भमा) एकता आवश्यक त छ तर एमालेका अध्यक्ष ओलीको मनसाय या व्यवहार त्यसका लागि बाधक छ भन्ने नै हो । अर्थात् प्रचण्डलाई पनि लागेको छ, केपी ओली तयार हुने हो भने एकता गरौँ । शङ्करलाई पनि लागेको छ शक्ति आर्जन गर्ने हो भने कम्युनिस्ट पार्टीहरूलाई मिसाएर एउटै पार्टी बनाऊँ । केही दिनअगाडि प्राध्यापक कृष्ण पोखरेलले कम्युनिस्ट पार्टीहरूलाई मिलाउनका लागि विद्या भण्डारी राजनीतिमा आउने हो भने त्यो राम्रै हुने आशयसहितको मन्तव्य राख्नुभएको थियो । अर्थात् नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्व पनि र वामपन्थी झुकाव राख्ने या कम्युनिस्ट पार्टीहरूसँग नजिक रहेको नागरिक समाज पनि यी पार्टीहरूका बिचको एकताको पक्षमा छन् । यसरी हेर्दा यी दुई ठुला कम्युनिस्ट पार्टीका बिच एकता र सहकार्यका लागि दलको नेतृत्वले दबाब महसुस गरेको बुझ्न सकिन्छ । आजको आलेखमा नेपालमा कम्युनिस्ट पार्टीका बिचको एकताको राजनीतिक महत्व, औचित्य र सम्भावनाका विषयमा छलफल गरिने छ । 

कांग्रेसको काँध र काख 

नेपालको राजनीतिमा उदारवादी विचारधारालाई समर्थन गर्ने र बेलायती मोडलको संसदीय लोकतन्त्रलाई मार्गदर्शक मान्ने दलका रूपमा नेपाली कांग्रेसको लगभग एकलौटी स्विकारोक्ति छ । यसको सारमा व्यक्तिगत स्वतन्त्रता र स्वच्छन्द बजार अर्थतन्त्रप्रतिको विश्वास रहेको छ । यद्यपि बिपी कोइरालाले माक्र्सवादको प्रभाव स्वीकार गर्दै समाजवादलाई आफ्नो आर्थिक विकासको बाटोका रूपमा मानेका थिए । त्यसलाई अहिलेको कांग्रेसले सम्पूर्ण रूपमा परित्याग गरिसकेको छ । यता लेनिन र माओका प्रयोगलाई अनुकरण गरिएको माक्र्सवादी विचारधारा नेपालको राजनीतिमा नेपाली कांग्रेसका विचार र राजनीतिको विकल्पमा समानान्तर रूपमा २००७ साल अगाडिदेखि नै आकर्षणको विषय बनेको छ । खास गरी पञ्चायतविरोधी सङ्घर्षको समयमा कम्युनिस्टहरूले गरेको निरन्तरको सङ्गठन निर्माण र विस्तारको प्रभावसहित २०४८ मा आएर कम्युनिस्टहरू प्रभावकारी रूपमा राष्ट्रिय राजनीतिमा उपस्थित भएका थिए । २०४७ को अन्तरिम सरकारमा कांग्रेसको नेतृत्वमा सरकारमा गएका कम्युनिस्टहरू २०५१ मा एकल सरकार बनाउन सफल भए । त्यसयता भने कम्युनिस्ट नेतृत्वमा अनेक पटक सरकार बनेका छन् । सँगै कांग्रेसको नेतृत्वको सरकारमा कम्युनिस्टहरू सामेल मात्र भएका छैनन् कम्युनिस्टको नेतृत्वमा कांग्रेस पनि सामेल भएर रागेपाटे सरकार बनिरहेका छन् ।

यसले नेपाली राजनीतिका वैचारिकीलाई धुमिल र घुर्मैलो बनाइदिएको छ । यी दुईले प्रतिनिधित्व गर्ने उदारवादी र साम्यावादी विचारका बिच एक प्रकारको सहवास भएर वर्णशङ्कर विचार विकास भएको र अहिलेको राजनीति त्यसैले चलाइरहेको जस्तो देखिन्छ । 

२०६३ यता त नेपालका कम्युनिस्ट पार्टीका घटकहरू समावेश नभएको एउटा पनि सरकार बनेको छैन । सर्सर्ती हेर्दा यो नेपालका कम्युनिस्टहरू बलशाली रहेको प्रमाण जस्तो देखिन्छ । यथार्थमा यसले कांग्रेसलाई त खासै फरक पारेको छैन कम्युनिस्टहरूलाई चाहिँ आफ्ना आधारभूत विचारबाट विचलित गराएर वर्तमान पुँजीवादी ढाँचाको अर्थराजनीतिलाई निरन्तरता दिने र संसदीय मोडलको राजनीतिक प्रणालीलाई बलियो बनाउनेमा सीमित हुने खतरा बढाइदिएको छ ।

कहिले कांग्रेसको काँधमा कहिले कांग्रेसको काखमा बसेर सत्ताको सुखभोगमा लागेका कम्युनिस्टहरूले आसन्न सङ्कटलाई अनदेखा गरिरहेका छन् । बिचमा एमाले माओवादी एकता भएर बनेको नेकपा तीन वर्षमै भत्क्यो । यी दल अहिले पनि एउटाले अर्कालाई कांग्रेससँग मिल्न नदिएर फाइदा लिने दाउमा छन् । यसका लागि कांग्रेसको राजनीतिसँग सम्झौता गर्दै जाँदा यिनले आफ्नो वास्तविक अनुहारमा अनेक रङ्ग पोतेर विरूप बन्दै गएको पत्तो पाएका छैनन् । कांग्रेस लिवरल विचारको मध्य दक्षिणपन्थी बाटोमा अग्रसर छ र कम्युनिस्टहरूले कमसेकम मध्यवामपन्थको देव्रे ढल्कुवा बाटो लिए मात्र यिनीहरूको अलग पहिचान र अस्तित्व बन्छ भन्ने कुरा नेताहरूले नै बुझ्न चाहेका छैनन् । यिनीहरूले जे–जति अहिले शक्ति जोगाएका छन् त्यो अहिलेको समयका मुद्दालाई सम्बोधन गरेर भन्दा इतिहासको ब्याज पाएर बढी टिकेको हो भन्ने पनि यिनले चेतेको जस्तो छैन । 

वामपन्थी (कम्युनिस्ट) एकताको कुरा गर्ने हो भने त्यो प्रस्टसँग वैचारिक धारमा आधारित हुनु पर्छ र त्यसले देव्रे ढल्कुवा संसदीय राजनीतिको कोर्स लियो भने मात्र दीर्घकालीन रूपमा नेपाली समाजलाई प्रतिनिधित्व गर्न र समाज रूपान्तरणको बाटोमा नेतृत्व गर्न सक्छ ।

सम्भावना

कम्युनिस्ट एकताका सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले महासचिव पोखरेलका अभिव्यक्तिले नेपाली समाजमा भित्रभित्रै विकास भइरहेका केही प्रवृत्तितर्फ सङ्केत गर्छन् । पहिलो हो, एकअर्कालाई निषेध गर्दै अघि बढ्न चाहेका भए पनि यी दुई दलको विकासका केही समान ऐतिहासिक र विचारधारात्मक प्रवृत्ति छन् । दुवै दलको आधार उनीहरूले लिएको माओ विचारधारा अनुकूलको समाज रूपान्तरणको क्रान्तिकारी विचारबाट प्रशिक्षित जनसमुदायका आकाङ्क्षासँग जोडिएको थियो । झापाली किसान विद्रोहको जगमा जनवादी गणतन्त्र स्थापनाको बाटोमा हिँडेर नै तत्कालीन मालेको सङ्गठनको आधार बनेको हो । यसै गरी झापाली या मालेले २०४५ वरपरबाट संसदीय उदारवादको बाटो लिन थालेपछि खाली भएको जनमतको उपरोक्त क्रान्तिकारी विचारको ठाउँ भरेरै २०५१ मा माओवादीले जनयुद्ध थालेका थिए र त्यसकै आधारमा उनीहरूको जनआधार बनेको थियो । २०६३ सालपछि माओवादीले पनि आधारभूत रूपमा एमालेकै बाटो पच्छ्याएको छ । यसले गर्दा यी दुवै दलको बिच आधारभूत वैचारिक भिन्नता देखा पर्दैन ।

२०४७ यता बहुदलीय जनवादको रूपमा आफ्नो राजनीतिक बाटोलाई संसदीय उदारवाद सापेक्ष विकास गरेको एमालेले कांग्रेसको विकल्पमा नेपालको मध्यम तथा निम्न पुँजीवादी सहरिया वर्ग, सहरिया गरिब र गाउँको व्यापक किसान समुदायलाई वरपर गोलबन्द गरेको थियो । बिस्तारै गाउँको आधारभूत श्रमिकको ध्यान माओवादीतिर गयो र एमालेको शक्ति गाउँमा सानो पुँजीपति र मध्यम किसान हुँदै गाउँको परम्परागत शक्ति सम्भ्रान्तमा सर्दै गयो । यता सहरिया मध्यम वर्ग हुँदै उच्च वर्गको एउटा हिस्सा र २०४८ पछिको नवउदारवादी अर्थनीतिबाट फाइदा लिएको अर्को तप्का पनि एमालेको नजिक पुग्यो । स्वयम् एमाले पङ्क्तिको वर्गोत्थान हुँदै जाँदा एमालेको नयाँ वर्ग आधार तयार भयो । वास्तविक प्रतिनिधित्वको अभावमा अहिले पनि श्रमिक वर्ग चलायमान अवस्थामा आफ्नो मत व्यक्त गर्छ र आशावादी नजरले चाहिँ कम्युनिस्टहरूतर्फ हेर्छ तर पूरा विश्वास गर्न पनि सक्दैन । सहरियादेखि गाउँको मध्यमवर्ग एमाले र कांग्रेसमा विभाजित छ । त्यसकै सानो हिस्सा माओवादीसँग छ । सीमित सङ्ख्यामा रहेको परम्परागत सत्ता सम्भ्रान्तहरू ज्ञानेन्द्र शाहदेखि केपी ओलीसम्म र शेरबहादुरदेखि गगन थापासम्म आफ्नो प्रतिनिधित्वको खोजीमा भौँतारिएको छ । 

क्रोनी पुँजीपति र राष्ट्रिय पुँजीपति वर्गको उच्च तह कांग्रेस र एमालेबाट (प्रधानमन्त्री भएको बेला प्रचण्डबाट) जे जति सकिन्छ फाइदा उठाउने काममा लिप्त छ । यसले राजनीतिक शक्तिलाई भ्रष्टीकरण गर्न र भृत्यतन्त्रसँग मिलेर स्रोतको दोहन गर्न समग्र राज्यसंरचनालाई परिचालित गर्ने बिचौलिया वर्गलाई जन्म दिएको छ । यी यस्ता अवस्था हुन्, जसले आर्थिक विकास र सुशासनलाई अवरुद्ध गरेका छन् । समग्र अर्थतन्त्रलाई चलायमान गराउने आधारभूत नीतिगत र कानुनी व्यवस्था विकास गर्न रोकेका छन् । यसैको प्रभाव हो कांग्रेस र कम्युनिस्टमा परम्परादेखि विभाजित हुँदै आएको जनमत निराश र आक्रोशित हुँदै स्वतन्त्र व्यक्ति र नयाँ उत्तेजक शक्तिहरूसँग लोभिएको छ । यसले पनि थप राजनीतिक विकृृति निम्त्याएको छ ।

यसलाई तोड्न कांग्रेस र कम्युनिस्टका बिच बन्दै भत्कँदै गरेका गठबन्धनबाट असम्भव छ । कमसेकम विगत १८ वर्षका सरकारका गतिविधिले यही भन्छन् । अहिलेको आर्थिक शिथिलतको एउटा कारण पनि यही बाँडीचुँडी सरकार चलाउने, एकअर्काका काखमा बसेका भ्रष्ट तत्वलाई संरक्षण गर्ने गठबन्धन चरित्रमा निहित छ । आर्थिक विकासका लागि देखा परेका संरचनागत अवरोधमाथि हस्तक्षेप गर्ने मनोबल पनि यो अस्थिरता र गठबन्धनमा छ । यदि यस्तो मान्ने हो भने प्राध्यापक कृष्ण पोखरेलले भनेको जस्तो समग्र नेपाली राजनीति मध्य वामपन्थी र मध्य दक्षिणपन्थी ध्रुवीकरण हुनु उपयुक्त हुन्छ । यस्तो ध्रुवीकरणमा एमाले र माओवादी केन्द्रको एकताले सहजीकरण गर्न सक्छ । 

अन्तर्यमा रहेको विचराधारात्मक आधार र ऐतिहासिक लिगेसीले पनि एमाले माओवादी एकतापछि बन्ने शक्ति दक्षिणपन्थतिर ढल्कन सम्भव छैन । कम्युनिस्टहरू ध्रुवीकृत हुनेबित्तिकै कांग्रेसको नेतृत्वमा मध्य दक्षिणपन्थी ध्रुवीकरण अनिवार्य हुने छ । यसो भए देशको विशृङ्खलित राजनीतिक शक्ति वितरणलाई एकत्रित गर्न मद्दत पुग्छ । यस्तो शक्तिले अर्थराजनीतिक क्षेत्रमा देखा परेका संरचनागत अवरोध छिमल्न ध्यान दिन सम्भव हुन्छ । यसैले कम्युनिस्ट एकताको सम्भावना छ । यसका लागि शङ्कर पोखरेलले तल्लो तहबाट अन्तर्क्रिया र संवाद थाल्नु उपयुक्त हुने छ । जसमा अन्य वामपन्थी शक्तिलाई पनि सामेल गर्ने प्रयास थालिनु पर्छ । नेपालको पुँजीवादी विकासलाई गति दिन, उत्पादन वृद्धि र रोजगारी बढाउने राष्ट्रिय औद्योगिकीकरण विकास गर्दै समाजवादको आधार तयार पार्नकै लागि पनि यो उपयुक्त बाटो हो ।