• २९ फागुन २०८१, बिहिबार

हेलिकोप्टर उडान–अवतरणमा अवरोध हटाउन माग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २ गते । खुम्बु क्षेत्रमा रोकिएको हेलिकोप्टर उडान–अवतरण पुनः सञ्चालन गर्न निजी क्षेत्रले आह्वान गरेका छन् । पर्यटनसँग सम्बन्धित सात वटा सङ्घ संस्थाले बिहीबार सामूहिक रूपमा प्रेस विज्ञप्ति जारी गर्दै सन् २०२५ जनवरी १ देखि खुम्बुमा हेलिकोप्टर उडानमा लगाएको प्रतिबन्ध तत्कालै खुलाउन आग्रह गरेका हुन् ।

हेलिकोप्टर उडान तथा अवतरणमा प्रतिबन्ध लगाउँदा अन्तर्राष्ट्रिय जगत्मा नेपालबारे नकारात्मक सन्देश गएको र पर्यटकले गरेको हेलिकोप्टर बुकिङसमेत रद्द हुन थालेपछि तत्काल समस्या समाधानको माग गरिएको छ । 

वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता मुरलीधर जोशीले भन्नुभयो, “प्रमुख पर्यटकीय क्षेत्रमा हेलिकोप्टर उडान तथा अवतरणमा रोक लगाउँदा पर्यटन उद्योग नै धराशायी हुनुका साथै हेलिकोप्टर कम्पनीलाई ठुलो आर्थिक भार पर्दै गएको छ । अहिले सबै हेलिकोप्टर कम्पनीको गरेर दैनिक दुई करोड रुपियाँसम्म नोक्सान हुँदै आएको छ ।”

पछिल्लो समय सगरमाथा राष्ट्रिय निकुञ्जको क्षेत्राधिकारभित्र हेलिकोप्टरको उडान–अवतरणमा कुनै समस्या नरहेको जानकारी दिँदै उहाँले स्थानीय युवा क्लब, खुम्बु पासाङ गाउँपालिका र निकुञ्ज क्षेत्रसँग उद्धार उडान, सामान ढुवानी र पर्वतीय उडानमा सहमति भए पनि व्यावसायिक उडानमा अवरोध कायमै रहँदा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

खुम्बु क्षेत्रमा देखिएको समस्या कानुनविपरीत रहेकाले तत्काल समस्या निराकरणका लागि वार्ता तथा संवादद्वारा समस्या समधान गर्न पर्यटनसँग सम्बन्धित सबै सङ्घ संस्थाले ऐक्यबद्धता जनाएको उहाँले बताउनुभयो ।

वायुसेवा सञ्चालक सङ्घ, नेपाल उद्योग परिसङ्घ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, एक्सपिडियन्स अपरेटर्स एसोसिएसन नेपाल, होटेल सङ्घ नेपाल, पर्वतारोहण सङ्घ, नेपाल एसोसिएसन फर टुर एन्ड ट्राभल एजेन्ट्सले जारी गरेको विज्ञप्तिमा हेलिकोप्टर उडान तथा अवतरणमा रोक लगाउँदा पर्यटन उद्योग मात्रै धराशायी नभएर हेलिकोप्टर कम्पनीमा कार्यरत कर्मचारीको रोजगारी गुम्ने, तिनमा आश्रित परिवारको रोजीरोटी खोसिने अवस्था आएकाले समस्या समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।