चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन १ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका विद्यार्थी (खेलाडी) लाई विदाइ गरेको छ । गाउँपालिकाले प्रतियोगितामा सहभागी भएर विभिन्न विधामा विभिन्न पदक जित्न सफल विद्यार्थीलाई सम्मानसहित विदाइ गरेको हो ।
गाउँपालिकाका प्रवक्ता एवम् वडा १ ढुङ्गेसाँघुका वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार बिहीबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगितामा विभिन्न पदक जित्न सफल विद्यार्थीको विदाइ गरिएको हो । प्रतियोगिताका विजेता विद्यार्थीलाई गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमलगायतका पदाधिकारीले सम्मानसहित विदाइ गर्नुभएको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।
बुधबार सम्पन्न भएको १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २५ स्वर्णसहित मैवाखोला गाउँपालिका प्रथम भएको थियो । रजत र कास्यमा समान १८–१८ पदकमा जित निकालेको थियो । गाउँपालिका प्रवक्ता तामाङका अनुसार मैवाखोलाले सबैभन्दा बढी उसु विधामा आठ वटा स्वर्ण, एथ्लेटिक्सतर्फ ६ र कराँतेमा पाँच स्वर्ण जितेको छ ।
यस्तै, तेक्वान्दोमा चार र छात्रा भलिबल तथा छात्रा कबड्डीमा एक–एक स्वर्ण जितेको थियो । प्रतियोगितामा स्वर्ण पदक विजेतालाई जनही ५ हजार रुपियाँ, रजतलाई एक हजार र कास्य पदक विजेतालाई जनही ५०० रुपियाँ पुरस्कार रकम प्रदान गरिएको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा गाउँपालिका भित्रका पाँच वटा माध्यमिक विद्यालयका विद्यार्थी सहभागी भएका थिए । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको आयोजनामा भएको प्रतियोगितामा मैवाखोलासहित जिल्लाका नौवटै स्थानीय तहले सहभागिता जनाएका थिए ।