• १ फागुन २०८१, बिहिबार

टाइम्सलाई थ्री बाई थ्री बास्केटबल उपाधि

blog

उपाधिसहित टाइम्स टोली ।

काठमाडौँ, फागुन १ गते । अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि टाइम्स ‘ए’ ले जितेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको फाइनलमा टाइम्स ‘ए’ ले राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै उपाधि जितेको हो । साविक विजेता टाइम्सले लगातार दोस्रो पटक उपाधि जितेको हो । 

नेपाल बास्केटबल सङ्घ र थ्री बाई थ्री नेपालको आयोजनामा सम्पन्न दोस्रो संस्करणमा टाइम्स ‘ए’ का सदिस प्रधान सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । पहिलो सेमिफाइनलमा राइभल इन्डियालाई टाइम्स ‘ए’ ले २१–१३ ले हराएको थियो ।

दोस्रो सेमिफाइनलमा राइभल पाकिस्तानले आर्मी ‘बी’ लाई २१–१८ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । यसअघि क्वार्टरफाइनलमा टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’, राइभल इन्डियाले आर्मी ‘ए’, होउन्ड्सले आर्मी ‘बी’ तथा राइभल पाकिस्तानले एसवाइएमलाई पराजित गरेको थियो । 

प्रतियोगितामा नेपालबाट २४, बङ्गलादेशबाट चार, भारतबाट तीन र पाकिस्तानबाट एक टिम सहभागी सहभागी थिए । विजेतालाई प्रमुख अतिथि नेपालका लागि  कतारी राजदूत मिसाल विन मोहम्मद अल अन्सारी, सांसद सोविता गौतम,  नेपाल बास्केटबल सङ्घका अध्यक्ष भीमसिंह गुरुङ, बास्केटबलको आधिकारिक पोशाक वितरक लिनिङ्कका संस्थापक राजेन महर्जनलगायतले पुरस्कार प्रदान गर्नुभयो ।