• ३० माघ २०८१, बुधबार

पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

blog

ठेहेको राम्पाल माडुमा धामी नाच्दै । तस्बीर : राजन रावत

राजन रावत 

हुम्ला, माघ ३० गते। जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर मनाउने कार्य भएको छ।पाँच दिन लगातार धामी र झाँक्रीले एक छाके व्रत बस्ने माघ पूर्णिमा बुधबार अन्तिम दिन हो। 

धामी र झाँक्रीलाई तीन दिन नाच्नुपर्ने र सो क्रममा कुनै बिमार नलागोस् भनेर व्रत बस्नुपरेको सिमकोट गाउँपालिका–२ का लक्ष्मण बोहराले बताउनुभयो।

धामी झाँक्रीले एकादशीबाट पूर्णिमासम्म लगातार एकछाके व्रत बस्नुपर्ने माघे पूर्णिमाको धामी नाच हुने उहाँले बताउनुभयो।धामी र झाँक्रीले यो पाँच दिनसम्म अनिवार्य व्रत बस्नैपर्ने स्थानीय नियम रहेको बताउँदै उहाँले त्यो बेला भात र दुध दही मात्र खाने गरेको जानकारी दिए।

विशेष गरेर धामीले त्रयोदशीबाट पूर्णिमासम्म तीन दिन लगातार नाच्नुपर्ने भएको कारण व्रत बस्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ।व्रत नबसे धामीलाई नाच्ने क्रममा कुनै बिराम वा बेथा लागे राम्रो नहुने  विश्वास छ ।

ठेहे गाउँका धामी र झाँक्री गाउँबाट बाजागाजासहित रामपाल माडुमा जाने र सो माडुमा पालैपालो नाच्ने गर्नुहुन्छ। वर्षभर देवी देवतासँग भाकल गरिएको खसी वली, चौंरी गाई, घोडा पनि चढाउने गरिन्छ।

यसका लागि हुम्ला जिल्लाभरका र दार्चुला जिल्लाका ब्यासी समुदाय पनि आउने गर्नुहुन्छ।दिउँसो धामी नाच्ने, पूजापाठ गर्ने र राति महिला पुरुष मिलेर देउडा गाउने गरिन्छ।पूजापाठ गर्न रमाइलो मनाउन बाहिरबाट आएका पाहुनालाई पालो लगाएर घरघरमा खाना खुवाउने गरिन्छ ।