वासुदेव शर्मा
जाजरकोट, असार २७ गते । नलगाड नगरपालिका–३ र ४ मा भूकम्प प्रभावितको विस्तृत क्षतिको विवरणमा आफ्नो नाम नआएपछि उनीहरूले तालाबन्दी गरेका छन् । विसं २०८० कात्तिक १७ गते बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पले जनधनको क्षति गरेको २१ महिना बितिसकेको छ । सरकारबाट प्राप्त भएको अस्थायी आवास अनुदान रकम पाएपछि त्रिपालबाट टहरामा सरेका प्रभावितको बर्खामा बिचल्ली भएको छ ।
सरकारले पुनर्निर्माणको काम ढिलासुस्ती गरेपछि भूकम्प प्रभावित डरत्रासमा रात बिताउन बाध्य छन् । पुनर्निर्माणको काम अघि बढाउन सरकारले करिब १९ महिनापछि विस्तृत क्षतिको विवरण आकलन (डिडिए) को काम थालनी गरेको छ । डिडिए सम्पन्न भएका वडाको नाम सार्वजनिक गरेपछि त्यसमा आफ्नो नाम नआउँदा नलगाड नगरपालिका–३ र ४ वडा कार्यालयमा सर्वसाधारणले तालाबन्दी गरी काम ठप्प पारेका छन् ।
नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्रीबहादुर पन्तका अनुसार भूकम्पपछि ४५० घरमध्ये ४३६ घरको विस्तृत क्षतिको विवरण आकलन (डिडिए) गरिएको छ । १३ घरपरिवार सम्पर्कमा नआएपछि बाँकी छन् । पहिलो चरणमा नाम नआएपछि दोस्रो चरणमा आउने कुराको विश्वास नगरेपछि वडा कार्यालयमा प्रभावितले तालाबन्दी गरेका छन् ।
उहाँका अनुसार सामान्य रूपमा चर्किएका घर पुनर्निर्माण गर्नुपर्ने जनताले माग राखेका छन् । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधकारणले असारभित्र पुनर्निर्माणको काम असार महिनादेखि सुरु गर्न आग्रह गरे पनि स्थानीय तहको बेवास्ताका कारण सुरु हुन सकेको छैन । विस्तृत क्षतिको विवरण आकलन (डिडिए) को लिस्ट वडा कार्यालयमा प्रकाशन गरेपछि लाभग्राहीको नाम छुटेपछि तालाबन्दी गरिएको छ । सो वडामा ६५४ वटा घरको (डिडिए) गरिएको थियो । ४७५ जनाको नाम लिस्ट प्रकाशन गरिएका ४४० जनाको पुनर्निर्माण र ३५ घर सामान्य तथा प्रबलीकरणमा परेका छन् । पुनर्निर्माणका लागि लाभग्राहीसँग सम्झौता गरी काम अघि बढाउन खोजेपछि प्रकाशन गरेको सूचीमा नाम नपरेका जनताले वडा कार्यालय तालाबन्दी गरेको वडा सचिव उत्तम चन्दले बताउनुभयो । वडामा जनताले तालाबन्दी गरेपछि नियमित तथा प्रशानिक काम अवरुद्ध छ ।
नलगाड नगरपालिका–४ का गीताकुमारी रावलका अनुसार वडा कार्यालयले सार्वजनिक गरेको (डिडिए) विभेदकारी तरिकाले सार्वजनिक गरिएकाले नगरपालिकामा समेत तालाबन्दी गरिने चेतवानी दिनुभयो । डिडिए गरेका वास्तविक भूकम्पपीडितले नयाँ घर पाउने छन् । स्थानीय तहको त्रुटि नभएको वडा कार्यालयले जनाएको छ ।