• ३० माघ २०८१, बुधबार

अभाव भएपछि स्वास्थ्यकर्मीले दिन्छन् रगत

blog

बोमलाल गिरी 

नवलपुर, माघ ३० गते। माग अनुसारको रगत सङ्कलन हुन नसकेपछि नवलपुरमा रगत अभाव भएको छ। नवलपुरको कावासोती र आसपासका अस्पतालले शल्यक्रिया सेवा पनि थप गरेपछि रक्त सञ्चार केन्द्र कावासोतीमा संकलन भएको रगत नवलपुरमै पुर्‍याउन गाह्रो भएको नेपाल रेडक्रस कावासोतीका अध्यक्ष बाबुराम कँडेलले बताउनुभयो।

 कँडेलले भन्नुभयो, ‘अस्पतालमा बिरामीको चापका कारण रगतको माग बढेको छ, तर यही बेला दाताको सङ्ख्या घटेकाले रगतको माग धान्न हम्मेहम्मे परेको छ ।’ 

रगत नपाएकै कारण कतिपय अवस्थामा बिरामीका आफन्त रगतको खोजीका लागि भौंतारिरहेको भेटिने गरेको उहाँको भनाइ छ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोती नवलपुर रक्तसञ्चार सेवाले जिल्लामा सामान्यतया एक महिनामा एक सय ५० युनिट रगत खपत हुने गरेकोमा अहिले महिनामा तीन सयभन्दा बढी युनिट रगत खपत हुने गरेको जनाएको छ।

चितवनमा समेत कावासोतीबाट रगत पठाउनुपर्ने भएकोले माग अनुसार रगत पुर्‍याउन गाह्रो भएको कँडेलले बताउनुभयो।जाडो मौसममा रुघाखोकी लगायतका कारणले नियमित रक्तदातामा पनि कमी आएको उहाँको भनाइ छ।

नेपाल रेडक्रस सोसाइटी कावासोतीले संस्थागत रुपमा र व्यक्तिगत रुपमा पनि रक्तदान गर्न अनुरोध गरेको छ। मध्यविन्दु प्रादेशिक अस्पताल डण्डाका मेडिकल सुपरिटेण्डेन्ट डा. रमेशप्रसाद आचार्यले रगत अभावकै कारण अस्पतालमा शल्यक्रिया नै प्रभावित नभएपनि अभाव भने देखिएको बताउनुभयो।

‘अस्पतालको आफ्नै ब्लड बैंक छैन, रगत अभाव भइहालेको थाहा हुन्न तर पनि बिरामीले रगत नपाएकै कारण अस्पतालकै कर्मचारीबाट रगत दिएर काम चलाउने गरेका छौं’, मेसु डा. आचार्यले भन्नुभयो।

अस्पतालभित्रकै नियमित रक्तदाता कर्मचारीको सामाजिक सञ्जाल ग्रुप बनाएर शल्यक्रिया गर्ने बेला बिरामीका आफन्तले रगत नपाएर उक्त ग्रुपमा भनी रगत अभाव हल गर्ने गरेको डा. आचार्यले बताउनुभयो।